तल प्रस्तुत गरिएको तस्वीरमा देखिएको लामबद्ध लाईन र भिड कुनै मन्दिर वा मेलाको होईन । यो भिड जिल्ला प्रशासन कार्यालय बारा कलैयाको हो । यस्तो भिड जिल्ला प्रशासन कार्यालयमा दिनहु हुने गर्दछ ।
यदी तपाई कुनै काम लिएर जिल्ला प्रशासन कार्यालय बारामा जानुभयो भने तपाईले सहजै सेवा पाउने स्थिती भने छैन । घण्टौसम्म लाईन बस्तु पर्ने वा काम नभएर रित्तै हात फर्कनु पर्ने पनि हुन सक्दछ ।
जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, प्रतिलिपी नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरु दिने गरेको छ । अरु सेवा भन्दा पनि नयाँ नागरिकता र प्रतिलिपी नागरिकता वितरणमा सवैभन्दा बढि समस्या देखिएको छ ।
कार्यालयमा सेवा लिन आउनेहरुको अत्याधिक चाँप हुनु र कार्यालयमा पर्याप्त कर्मचारीहरु नहुदा सेवा प्रवाहमा समस्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बारा बेतिथीको चाँङ्ग बनेको छ ।
जिल्ला प्रशासन कार्यालय बारा अन्तरगत अधिकृत स्तरका मात्रै ४ जना कर्मचारी नहुदा नागरिकता वितरणमा सवैभन्दा बढि समस्या देखिएको कार्यालयले जनाएको छ ।
लामो समयदेखी कार्यालयमा प्रशासकीयअधिकृतहरु नहुँदा सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिन नसकेको प्रशासन कार्यालयको पनि स्वार्कायोक्ती रहेको छ ।
कार्यालयमा सेवाग्राहीहरुले सहज रुपमा सेवा नपाउनु र बढि भिडभाड हुनको कारण मुख्यत कर्मचारी अभाव नै रहेको प्रशासन कार्यालयको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयमा मात्र होईन यो अन्तरगत रहेका अन्य कार्यालयहरु ईलाका प्रशासन कार्यालय कोल्हवी,ईलाका प्रशासन कार्यालय सिमरा र ईलका प्रशासन कार्यालय सिम्रौनगढका गरि र ४ जना प्रशासकीय अधिकृत नहुँदा सो कार्यलयबाट सेवा लिने अधिकांश सेवाग्राही मारमा परेका छन् ।
नागरिकता लगायतका सेवाहरु सहज रुपमा सेवा दिन सिमरा, कोल्हवी र सिम्रौनगढमा पनि ईलाका प्रशासन कार्यालय संचालनमा छ ।
तर कोल्हवी र सिम्रौनगढमा अधिकृत नहुदा सेवाग्राहीहरु लामो दुरी पारर्दै कलैया जिल्ला प्रशासन कार्यालय जाने गरेका छन ।
अधिकृत नै नहुदा इलाका प्रशासनको काम ठप्प बने पछि कलैया स्थित जिल्ला प्रशासन कार्यालयमा सेवा लिनेहरुको चाँप बढेको छ ।
ईलाका प्रशासन कार्यालय ठप्प भएपछि दैनिक जसो कोल्हवी र सिम्रौनगढका सयौ सेवाग्राहीहरु आएपछि अझ कार्यालयमा चाँप बढेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।
छोटो समयको जिम्मेवारी लिएर गएका कर्मचारी समयावधी भित्रै रवना लिएर गएपछि सेवाग्राही मारमा परेको सापकोटाको भनई छ ।
दुई जना अधिकृतले गर्नुपर्ने काम अहिले प्रशासकीय अधिकृत अनिता कुमारी राजलबटले मात्र गरेर भएपनि काम चलाउ रुपमा सेवाग्राहीहरुलाई सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाको गुनासो छ ।
इलाका प्रशासन कार्यालयहरु रहेका प्रशासकीय अधिकृतहरुको सरुवा भएपछि काम ठप्प भएको कुरा स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त समस्याको बारेमा आफुले बारम्बार सम्बन्धित माथिल्लो निकायमा घच्च घच्याइरहेको जानकारी दिए ।
बारामा बंशज,जन्मसिद्ध जस्ता नयाँ नागरिकता र प्रतिलिपी लिने नागरिकहरुको चाप बढेपछी अन्यौलता सिर्जना भएको प्रजिअ सापकोटाको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहान ८ बजेदेखि नै लाईनमा बसेर पनि काम हुन नसकेको आईतवार कार्यालय परिसरमा भेटिएका सेवाग्राही राम पासवानले दुःखेसो व्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा एक दिनको काममा हप्तौं लाग्ने गरेको र शाखा अधिकृत नहुँदा काम नभई घर फर्किने अवस्था रहेको अर्का एक सेवाग्राहीले बताए ।
प्रशासन कार्यालयमा सवैभन्दा बढि प्रतिलिपी लिन आउने सेवाग्राहीले बढि दुख पाउने गरेका छन । प्रतिलिपी नागरिकता लिन हप्तादेखी महिनौसम्म लाग्ने गरेको एक सेवाग्रहीले गुनासो सुनाए ।

