बसन्त खतिवडा/
पछिल्लो समय बीरगञ्ज जसरी कोरोनाको हट स्पट बन्दै छ, त्यसै गरी केही दिनमा सिमरा दोश्रो बीरगञ्ज बन्ने लगभग निश्चित छ । सिमरामा रहेका ठूला उद्योगले सुरक्षाको कुनै मापदण्ड समेत नअपनाई कामदार भित्र्याउने देखि कोरोना पोजेटिभ देखिदा समेत उद्योग शिल गर्न नसक्ने प्रशासनका कारण सिमरालाई दोश्रो बीरगञ्जको रुपमा हेरिन थालिएको छ ।
केही दिन अघि बाराको सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका ५ व्यक्ति अहिले सम्पर्कमा छैनन् भने अन्य ५ जनालाई स्थानीय होटलमा आईसोलेट गरी राखिएको छ । अर्का एक व्यक्ति सप्तरीको आईसोलेशनमा रहेको उद्योग प्रशासनले जानकारी दिएको छ ।
सम्पर्कमा नरहेका व्यक्ति भारतीय रहेको र स्वाब संकलन पश्चात उनीहरु भारत तर्फ गएको अनुमान स्थानीयले गरेका छन् ।
सिमा क्षेत्रबाट आवतजावत पूर्ण बन्द हुँदा ति व्यक्ति कसरी भारत पुगे भन्ने चर्चाले स्थानीय प्रशासनको माथा खराब भएको छ ।
मानव तस्करीको शैलीमा कर्मचारी आपूर्ति गर्दै उद्योग
गएराती करिव ९ बजेको समयमा एउटा ट्रकमा ३१ जना मजदूर कोचेर मानव तस्करीको शैलीमा उद्योगले मजदुर आपूर्ति गर्ने गरेको तथ्य बाहिरिएको छ । जिल्लामा यतिबेला अनिश्चितकालिन निषेधाज्ञा रहेको छ ।
स्थानीयले ट्रकमा मजदुर ओसारपसार हुन थालेको थाहा पाएपछी ट्रक घेराउ गरी मजदुरलाई बाहिर निकालेको छ । सामान्य मापदण्ड समेत प्रयोग नगरी उद्योगले एउटै ट्रकमा ३१ जना भन्दा बढी कामदार ओसार पसार गरीरहेको छ ।दिनको समयमा निषेधाज्ञा र स्थानीयको विरोध आउने भएपछि उद्योगले रातारात मालवाहक ट्रकमा मजदुर आपुर्ति गर्दै आईरहेको तथ्य उजागर भएको छ ।
पिसिआर परिक्षण नगरी ति मजदुरहरुलाई उद्योग भित्र र बाहिर निकालेको थाहा पाएपछी स्थानीय सँगै जनप्रतिनिधिहरु उपस्थित भए । उद्योगमा ११ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उद्योग शिल गर्ने कि नगर्ने भन्ने विषयमा स्थानीय सरकार र स्थानीय प्रशासन बीच सहमति हुन नसकिरहेको अवस्थामा प्रशासनको धज्जी उडाउदै जगदम्बाले रातको समयमा मजदुर ओसार पसार गरीरहेको छ ।
राती करिव १२ बजे जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले उद्योग प्रशासनसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपछि उद्योगमा तालाबन्दी गरी ती ३१ जना मजदुरलाई स्थानीय एक होटलमा राख्न आदेश दिएकी थिईन । उद्योगले पिसिआर परिक्षण र क्वारेन्टाइनको ब्यवस्था गरेर मात्रै कामदारलाई उद्योग भित्र र बाहिर निकाल्नुपर्ने भन्दै मजदुरलाई अन्यत्र जानबाट रोकेको स्थानीय युवा कृष्ण अधिकारीले बताए ।