कलैया । बाराको कलैयास्थित प्रादेशिक अस्पताल कलैयामा कार्यरत बाल रोग विशेषज्ञ डा. रामनिवास साहमाथि सरकारी अस्पतालको आडमा आफ्नै निजी अस्पताल सञ्चालन गरी बिरामीलाई त्यहाँ पठाउने गरेको आरोप लागेको छ।
अस्पतालको प्रसूति वार्डमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राहुल मण्डल र शोभा कुमारी राजवंशीको मिलेमतोमा विशेषगरी रातिको समयमा सुत्केरी बिरामीलाई विभिन्न बहाना बनाई निजी अस्पतालमा सिफारिस गर्ने गरिएको पीडित पक्षले आरोप लगाएका छन्। पीडितका अनुसार ब्लडको अभाव, बच्चाको जटिल अवस्था वा सामान्य सुत्केरी हुन नसक्ने भन्दै त्रास देखाई बिरामीलाई निजी अस्पतालमा लैजाने र त्यहाँ पनि सरकारी अस्पतालकै टिमबाट उपचार गराई आर्थिक भार बढाउने गरिएको छ।
चैत ६ गते २२ वर्षीया (परिवर्तित) सुत्केरी उपचारका लागि निजी अस्पताल पुगेकी थिइन्। त्यहाँ सामान्य सुत्केरी सम्भव नभएको भन्दै अपरेशन गर्नुपर्ने बताइएको थियो। त्यसपछि निःशुल्क सेवा पाइने जानकारीपछि उनलाई प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। तर प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएको भन्दै बाहिरबाट बाल रोग विशेषज्ञ डा. साहलाई बोलाई बिरामीको अवस्था गम्भीर भएको बताउँदै त्रास सिर्जना गरिएको पीडित पक्षको भनाइ छ।
त्यसपछि नजिकै रहेको कलैया सब मेट्रो सिटी हस्पिटलमा करिब ३५ हजार रुपैयाँमा अपरेशन गर्ने भन्दै बिरामीलाई त्यहाँ लगिएको थियो । पीडितले आफूले आर्थिक अवस्था कमजोर भएको र नारायणी अस्पताल जान चाहेको बताए पनि बाटोमै आमाबच्चाको ज्यान जोखिममा पर्ने भन्दै डर देखाएर निजी अस्पतालमै उपचार गराइएको आरोप लगाइएको छ।
यस घटनामा सरकारी अस्पतालमै सम्भव उपचार नगरी निजी अस्पतालमा लैजाँदा आफूहरूमाथि अन्याय भएको भन्दै पीडित परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। त्यसैगरी केही दिनअघि विष सेवन गरेका एक जना बच्चालाई समेत निजी अस्पताल कलैया सब मेट्रोमा चार दिनसम्म राखी बढी रकम लिएको आरोप समेत लागेको छ।
यता यस विषयमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। सत्यतथ्य छानबिन गरी दोषी भेटिए कारबाही गर्ने उनले बताएका छन्।

