नवराज चौलागाईं
सिजि कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा दिल्ली पब्लिक स्कुल वीरगञ्ज परवानिपुर बारा र ब्राइटर एकेडेमी जितपुरसिमरा बारा बिजयी भएको छ ।
बाराको परवानिपुरमा रहेको दिल्ली पब्लिक स्कुलको खेल मैदानमा प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा घरेलु टोली दिल्ली पब्लिक स्कुल विजयी भएको हो । उसले ज्ञानदा एकेडेमी वीरगञ्जलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
प्रनिस श्रेष्ठले खेलको २० औं मिनेटमा दिल्ली पव्लिकको लागि गोल गरे । खेलको ४२ औं मिनेटमा आदर्श सराफले गोल गरे । दिल्ली पब्लिकलाई सहज जित दिलाउनकोलागि ४४ औं मिनेटमा प्रनिसले व्यक्तिगत दोस्रो गोल गरे ।
उत्कृष्ट प्रदर्शन गरेका प्रनिस श्रेष्ठ खेलको प्लेयर अफ द म्याच घोषित गरियो । दोस्रो खेलमा ब्राइटर एकेडेमी जितपुरसिमरा बाराले गौतम स्कुल वीरगञ्ज विरुद्ध ७–१ गोल अन्तरको फराकिलो जित हासिल गरेकोछ ।
गौतम स्कुलको तर्फबाट खेलको शुरुवाती मिनेट मै आत्मघाति गोल उपहार ब्राइटर एकेडेमीले पाएको थियो । खेल अवधिभर ३ वटा अत्मघाति गोल पाएकोथियो । ब्राइटरको तर्फबाट जयराम महतोले २,सार्थकराज साह र दिपेन श्रेष्ठले १÷१ गोल गरेकाथिए ।
गौतम स्कुलको तर्फबाट आदित्य गिरीले प्राप्त पेनाल्टी मार्फत टोलिको तर्फबाट सान्त्वना गोल गरे । खेलको प्लेयर अफ द म्याच ब्राइटर एकेडेमीका जयराम महतो घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने पहिलो खेलमा सोलिडारिटी इन्टरनेसनल एकेडेमी मकवानपुर र न्यु एकता स्कुल जितपुरसिमरा बाराले प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा सनराइज इङ्लिस स्कुल चितवन र सिमरा पब्लिक इङ्लिस स्कुल जितपुरसिमरा बारा बिच प्रतिस्पर्धा हुनेछ ।
चौधरी समूहको सिजि एजुकेसनको व्यवस्थापनमा संचालित यो प्रतियोगिता नवौं संस्करणको हो ।
प्रतियोगितामा पर्साका ९,बाराका ५,मकवानपुर र चितवनका १÷१ गरि १६ वटा बिद्यालयको सहभागिता रहेको छ ।


