मधेश प्रदेशमा सबैभन्दा बढी बाल विवाह हुने गरेको कुरा बाराको कलैयामा सोमबार बताइएको छ ।
कलैया उपमहानगरपालिकाको सभाहलमा सामाजिक संस्था जिल्ला समन्वय समिति एवम् युनिसेफको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा यस्तो बताइएको हो ।
बालबालिकाहरुलाई सम्बोधन गर्न किशोरकिशोरीलाई सशक्त बनाउने पालिका स्तरीय सरोकारवालाहरुसंग कार्यक्रम सम्बन्धी अभिमुखिकरण तथा समन्वय बैठक बसेको हो ।
यूवाहरुमा गरिएको एक सर्वेक्षणमा १८ वर्ष मुनिका ३५ प्रतिशत मानिसले मधेश प्रदेशमा बाल विवाह गरेको खुलेको जनाइएको छ । देशमा यस्को समग्र संख्या २९ प्रतिशत रहेको छ ।
बाल विवाह हुने मधेशमा पुरुषको संख्या १७ प्रतिशत रहेको र यस्को राष्ट्रिय औसत १६ प्रतिशत रहेको छ । मधेशमा ४२ प्रतिशत बालिकाको उमेर नपुग्दै विवाह हुने गरेको र देशमा यस्को औसत ३५ प्रतिशत रहेको छ ।
सो बैठकको अध्यक्षता उपमहानगर प्रमुख विनोद प्रसाद साह र बैठकको समापन कलैया उपमहानगरपालिकाका उपप्रमुख रौशन प्रवीणको थियो ।
सो कार्यक्रममा संस्थाकी सरस्वती खरेलले यो कार्यक्रम बाराको चारवटा स्थानीय तहमा सञ्चालन गरिएको जानकारी दिइन् । उनले बाराको फेटा,कलैया,कोल्हवी एवम् आदर्श कोतवालमा यो कार्यक्रम लागु गरिएको बताइन् ।
बैठकको सञ्चालन मनोज कुमार यादव एवम् कार्यक्रमबारे जानकारी निर्मला भण्डारीले दिइन् ।
सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह एवम् सामाजिक कार्यकर्ता एवम् लक्ष्मी खरेल लगायतकाको सम्बोधन रहेको थियो ।

