Sajhedari Daily
Latest News from Nepal

कलैया नगर क्षेत्रमा फेरी सुरु भयो सरसफाई अभियान,सडक अतिक्रमण गरी व्यावसाय गर्नेलाई तत्काल हटाउन निर्देशन

रबिन्द्र प्रसाद साह/
कलैया बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको फेरी सरसफाई अभियान शुरु गरिएको छ । कलैया उपमहानगरपालिकाको अगुवाईमा कलैया बजार क्षेत्रमा सडक पेटीको अतिक्रमण हटाउन बुधवारवाट अभियान सुरु गरिएको हो । अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बारा, बारा उद्योग वाणिज्य संघ बाराको संयुक्त टोलीले अनुगमन तथा निरिक्षण सहितको सरसफाई अभियान थालिएको छ ।

टोलीले अनुगमनका क्रममा नगर क्षेत्रमा जथाभावी फालिएको फोहोर संकलन, फुटपातमा रहेको पसल हटाउनुको साथै सडकमा बनाइएका भौतिक संरचनाहरुलाई हटाउन निर्देशन समेत दिईएको थियो । टोलीले सडक पेटीका व्यावसाय नहटाए विहिवारदेखी नगर प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा भौतिक संरचना र सडक पेटी खाली गर्ने जनाईएको छ । अटेर गरेर सडक पेटीका व्यावसाय तथा पसलहरु नहटाउनेलाई कारवाही गरिने उपमहानगरपालिकाले जनाएको छ ।

बजार क्षेत्रमा चार पाङ्ग्रे गाडीले गर्दा झन बजार कुरुप भएकोले त्यसको समाधानका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चार पाङ्ग्रे गाडी बजार क्षेत्रमा प्रवेश निषेध गरिएको सूचना पनि सबैलाई जानकारी गराईएको थियो । कलैया बजार सरसफाई अभियानमा विहिवारदेखी निरन्तर गरिने कलैया उपमहानगरपालिकाले जानकारी दिएको छ ।

टोलीमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र, बारा उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जट्टाशंकर सहनी, कलैया उपमहानगरपालिका वातावरण शाखा प्रमुख रामजी मण्डल, सञ्चारकर्मीहरु, नगरप्रहरी, नेपाल प्रहरी,सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।