कटहरियाकी उपमेयर आफैले गरिन नगरपालिकामा तालाबन्दी

साझेदारी दैनिक
319 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको कटहरिया नगरपालिकाकी उपप्रमुख रितादेवी यादवसहितका जनप्रतिनिधिले ८ बुँदे माग राख्दै नगरपालिका कार्यालयमा तालाबन्दी भएको छ ।

पलिकाका सबै कर्मचारीलाई बाहिर निकालेर उनीहरूले नगरपालिकामा ताला लगाएका हुन् । उपप्रमुख यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

नगरप्रमुख अजयप्रकाश जयसवालले करार कर्मचारी,डिजल पेट्रोल,कर्मचारीको खाजालगायत विभिन्न शीर्षकमा अनियमितता गरेको उपप्रमुख यादवको आरोप छ ।

यही पुस १८ गते बसेको कार्यपालिकाको बोर्डको बैठकमा जानकारी माग्दा नगरप्रमुख जैसवालले २३ गते हुने बैठकमा सम्पूर्ण विवरण पेस गर्ने बताएका थिए ।

बैठकमा सहभागी हुन आउँदा नगरप्रमुख जयसवाल,प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह अनुपस्थित रहेको उपमेयर यादवले बताइन् ।

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बैठकमा सहभागी नहुनु र हिउँदे अधिवेशनका लागि कार्यपालिका सदस्यहरूको घरमा पुगेर निर्णय पुस्तिकामा हस्ताक्षर गराउन सुरु गर्नु नगरप्रमुखको नियत ठीक नरहेकाले तालाबन्दीमा उत्रिनु परेको यादवले बताइन् ।

कुनै पनि शीर्षकमा खर्च गर्नुअघि खर्चको प्रस्तावमाथि कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने, नगरक्षेत्रअन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिकामातहत तथा कार्यालयमा विगतमा खट्दै आएको कर्मचारी,डोर,करार,सफाइकर्मी,सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने वा नराख्नेबारे छलफल हुनुपर्ने माग राखेर ताला लगाएको उपप्रमुख यादवले जानकारी दिइन्।

उपप्रमुख यादवसहित वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा,वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ७ का अध्यक्ष सहिद मिया,कार्यपालिका सदस्य जामुन ठाकुरलगायतले जैसवालले सहज रूपमा हिसाब सार्वजनिक नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिए।

नगरप्रमुख जैसवालले छलफलको माध्यमबाटै समस्याको निकाश निस्कने बताए । आफूले कुनै किसिमको अनियमितता नगरेको बताए । कसैमाथि आरोप लगाउन सजिलो छ ।

अरुको उक्साहटमा कार्यालयमा ताला लगाए सम्पुर्ण कामकाज ठप्प पार्नु उचित नरहेको बताए । पालिकाको समग्र विकासको लागि सबै मिलिजुली अगाडि बढनु उचित रहेको मेयर जयसवालको भनाई छ ।

Leave a review