बारा : बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार शम्भुबहादुर बढाथोकी चुनावी अभियान बाहिरबाट हेर्दा सक्रिय देखिएपनि भित्री समीकरण भने अर्कै देखिएको छ । उम्मेदवार बुढाथोकीले निर्वाचन अभियान अन्तरगत घरदैलो, भेटघाट तथा कार्यक्रमहरुलाई तीब्र बनाईरहदा पार्टीभित्रैबाट असहयोग भएको चर्चा बढ्दो छ ।
सोही क्षेत्रका काँग्रेसका प्रभावशाली नेता, पुर्वमन्त्री एवम पुर्व सहमहामन्त्री उमाकान्त चौधरीले उम्मेदवार बुढाथोकीको सर्मथनमा प्रचार प्रसारमा खुलेर नलाग्दा अर्थपुर्ण मानिएको छ । बारा क्षेत्र नम्बर १ बाट पटक पटक निर्वाचन जितेका चौधरी स्वय उम्मेदारको दौडमा थिए । तर टिकट बुढाथोकीले पाएपछि अहिले प्रचार प्रसारमा चौधरी समूहको सक्रियता नदेखिनुलाई सामान्य संयोगभन्दा बढी राजनीतिक सन्देशका रूपमा धेरैले विश्लेषण गरेका छन । पुर्वमन्त्री चौधरीको यो मौनताले असन्तुष्टि र असहमतिको संकेत कायमै रहेको कतिपय कार्यकर्ताहरू नै बताउछन ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनताका प्रदेश सांसदका उम्मेदवार समेत रहेको कांग्रेस समुका युवा नेता रमेश दंगाल सँग देखिएको तिक्तता अहिले पुनः चर्चामा आएको छ । पार्टी भित्रको विगतका गुटीय समीकरणले अहिलेको अभियानमा असर पारेको भन्दै स्थानीय तहका केही नेताहरूले नै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
काँग्रेसका केही कार्यकर्ताहरू संगठन सुदृढीकरणभन्दा आर्थिक प्रभावमा बढी जोड दिइएको आरोप लगाउँछन् । चुनावी गतिविधिभन्दा खर्चको चर्चा बढी हुनुले कार्यकर्ताको मनोबल कमजोर भएको पनि धेरैको विश्लेषण छ । अहिले सामाजिक सञ्जालमा समेत कांग्रेस समर्थकबीच मतभेद खुला रूपमा देखिन थालेको छ । विगतमा आफ्नै उम्मेदवारविरुद्ध उभिएकाहरू अहिले नैतिकताको भाषण दिँदै ‘रुख’ चिन्हमा मत मागिरहेको भन्दै आलोचना भइरहेको स्रोतहरुको छ ।
स्थानीय राजनीतिक विश्लेषकहरुको भनाई अनुसार बाहिरी प्रतिस्पर्धा जति कठिन भए पनि कांग्रेसका लागि अहिलेको मुख्य चुनौती आफ्नै घरभित्रको अविश्वास हो । बारा क्षेत्र नम्बर १ मा काँग्रेसका लागि आन्तरिक एकता मजबुत नभएसम्म चुनावी नतिजा अनिश्चित रहने संकेतहरू प्रष्ट देखिएका छन् ।
स्थानीय स्तरमा बुढाथोकीले संगठनात्मक विश्वास निर्माणभन्दा आर्थिक प्रभाव प्रयोग गरेर चुनाव जित्ने रणनीति अपनाएको आरोपसमेत उठिरहेको छ । चुनाव नजिकिँदै जाँदा कार्यकर्ताको उत्साहभन्दा खर्चको चर्चा बढी हुनुले कांग्रेसभित्रको कमजोर अवस्था झल्काएको विश्लेषण गरिँदैछ ।









