सुरूभयो जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

रञ्जन यादव
475 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका स्तरिय अन्तर बिद्यालय स्तरिय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ।

मङ्गलबारदेखि उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टा स्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको बारा क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य ज्वाला कुमारी साहले उद्घाटन गर्नुभएको थियो ।

विद्यालयस्तरबाटै खेलप्रतिभाको पहिचान गर्न प्रतियोगिता कोशेढुंगा सावित हुने बताईन् । विद्यार्थीहरुलाई रुची र क्षमता अनुसारको खेलमा सहभागीताको वातावरण बनाउन स्थानीय तहमार्फत विभिन्न समयमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताईन्।

त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले खेलकुद क्षेत्रमा उपमहानगरपालिकाले राम्रो लगानी गरेपनि नतिजा सन्तोषजनक आउँन नसकेको प्रती दुख ब्यक्त गरे । अगामी बर्षको योजनामा उपमहानगरपालिकाले बिद्यालयलाई खेलकुदको ग्रासरुट बनाएर खेलकुदतर्फको लगानी बढाउँन तयार रहेको कार्यक्रममा उनले जानकारी दिए ।

कानुनी मान्यता प्राप्त खेलकुदतर्फको संघ,संगठनहरुसँग समन्वय गरी उपमहानगरपालिका अघि बढ्न तयार रहेका कारण संघ,संगठनहरु आ आफनो योजनासहित आउँन अनुरोध गरे ।

नगर प्रमुख पौडेलले शिक्षा क्षेत्रमा केही नयाँ परिवर्तन ल्याउँन खोज्दा यथास्थितीमा बस्ने रुचाउँनेहरु सधै असहयोग र बिपक्षी जस्तो ब्यवहार गर्ने गरेको सुनाए । उनले यसमा उपमहानगरपालिकालाई जनप्रतिनिधि र राजनैतिक दलका प्रतिनिधिहरुले साथ र सहयोग गर्न अनुरोध गरे ।

पालिकास्तरीय,अन्तरपालिका हुदै जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई प्रदेश र राष्ट्रियस्तरका खेलमा सहभागी हुनेछन् ।

माघ ०९ गते देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागी छन् । प्रतियोगितामा २० वटा सामुदायिक र १६ वटा संस्थागत विद्यायल गरी ३६ वटा बिद्यालयका ५ सय ७४ जना बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा क्रिकेट,भलिवल,फुटबल,हाइजम्प,लङजम्प, सटपुट,डौड,कराते,तेकान्दो गरि ९ खेलहरु हुने संयोजक रजघट्टा माध्यमिक बिद्यालय,रजघट्टाका प्रधानध्यापक राजु कुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, प्रमाणपत्र,पदक र ट्रफी वितरण गरिने छ । भने द्धितीय र तृतीय हुनेलाई क्रमशः पदक ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितालाई सफल रुपमा सञ्चालन गर्नकालागि जीतपुरसिमरा उपमहानगरपालिकाले १० लाख रुपैया र संघ सरकारले १ लाख गरी ११ लाख रुपैया छुट्याईएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा ६१ वटा सामुदायिक बिद्यालय र ५१ वटा सँस्थागत बिद्यालय रहेका छन् ।

कार्यक्रममा संविधान सभा सदस्य मधु शाही,जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारी, जीतपुरसिमरा १४ का वडा अध्यक्ष चयन गुरुङ लगातको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds