मालपोत कार्यालय पर्साका तत्कालिन दुई जना कर्मचारीमाथि कैद र रकमको सजाय विशेष अदालतले सुनाएको छ ।
मालपोत कार्यालय पर्साका तत्कालिन नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतको ईजलाशबाट सो सजाय सुनाइएको हो ।
भ्रष्टाचार मुद्दामा कैद सजाय र जरिवाना गरिएको छ ।विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर,नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले सोमबार सो आदेश दिएको हो ।
दुबै जनालाई कैद र जरिवाना गरेको हो ।तत्कालिन नायब सुब्बा गुप्तालाई राजश्व रकम हिनामिना मुद्दामा पाँच बर्ष कैद र ९५ लाख आठ हजार ३४ रुपैया जरिवाना भएको बिशेष अदालतका प्रबक्ता धन बहादुर कार्कीले जानकारी दिए ।
सोही मुद्दामा कार्यालयका तत्कालिन लेखापाल नागेन्द्र प्रसाद चौधरीलाई चार बर्ष कैद र ९५ लाख आठ हजार ३४ रुपैयाँ जरिवाना भएको कार्कीले बताए ।
मालपोत कार्यालयमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ साल चैत २८ गते उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो। अख्तियारले उनीहरुले मालपोत कार्यालयमा आर्थिक वर्ष २०७२÷७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमअनुसार दाखिला नगरी हिनामिना गरेको पाइएको थियो ।
रौतहटको गौरमा घर भएका गुप्ताले २०४७ सालमा मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदबाट सरकारी सेवा प्रवेश गरेका थिए। २०६४ सालमा नासुमा बढुवा भई मालपोत कार्यालय वीरगञ्ज,पर्सामा उनको सरुवा भएको थियो।
पर्सामा सरुवा भएपछि नासु पदमा उनले २०६४ देखि २०७४ सालसम्म काम गरेका थिए । सोही समयमा गुप्ताले घरजग्गा खरिदबिक्री गर्ने सेवाग्राहीसँग नियम अनुसार राजस्व लिए पनि थोरै दाखिला गर्ने र बढी आफूसँगै राख्ने गरेका थिए ।गुप्ता बिरुद्ध अन्य पनि मुद्दाहरु दर्ता रहेका छन ।

