जीतपुरसिमरा उपमहानगर स्तरीय तेस्रो राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाले जितेको छ।
सचिवालय बिद्यालय जनता माध्यमिक बिद्यालय रजघट्टाको संयोजनमा भएको प्रतियोगितामा राष्ट्रि बिभुती सामुदायिक शिक्षा सदन प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र २ कास्य सहित प्रथम भएको हो ।
यसैगरी प्रतियोगितमा नेपाल राष्ट्रिय नमुना मावि बकुलिया ६ स्वर्ण,३ रजत र ३ कास्य सहित दोस्रो भएको छ भने नेपाल राष्ट्रिय नमुना मावि सिमरा,४ स्वर्ण,६ रजत र ५ कास्य सहित तेस्रो हुन सफल भएको छ ।
आईतवार आयोजित प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वमन्त्री एवं बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान) र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले संयुक्त रुपमा प्रथम,द्धितीय,तृतीय हुने बिद्यालयलाई शिल्ड
,मेडल र प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाले जनता मावि रजघट्टामा उपमहानगरपालिका स्तरीय अन्तरविद्यालय तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता यही माघ ९ गतेबाट सुरु भएको थियो ।
प्रतियोगितामा पालिकाभरिका ४१ विद्यालयका ९ सय ५७ छात्रछात्राले सहभागिता जनाएका थिए । जसमा २२ ओटा सामुदायिक विद्यालय र १९ ओटा संस्थागत विद्यालय रहेका थिए ।
प्रतियोगितामा भलिबल,कबड्डी,छात्रा फुटबल,छात्र क्रिकेट,एथलेटिक्स,कराँते र तेकवान्डो गरी ७ खेल खेलाईएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ की अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन मगरले स्वागत गर्नुभएको समापन कार्यक्रमको सञ्चालन सचिवालय विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले गर्नुभएको थियो ।

