करण कुमार मिश्र/
रौतहटको गरुडा नगरपालिकामा गरेको तालाबन्दी एक महिनापछि खोलिएको छ।
जनप्रतिनिधिबीच वादविवाद आपसी सहमतिले समाधान भएपछि एक महिना भन्दा बढी दिनदेखी गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताल्चा सोमबार बेलुका ७ बजे खुलेको हो ।
नगर उपप्रमुख पुनमदेवी चौधरी सहित ६ जना वडा अध्यक्षहरुले विभिन्न माग राख्दै बिगत एक महिनादेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरि मुलगेटमा धार्ना दिदै आएका थिए।
नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछी नगर उपप्रमुख चौधरी सहित आन्दोलनरत वडा अध्यक्षहरुले सोमवार ताल्चा खोलेका हुन ।
जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयस्वाल र आन्दोलनरत पक्ष बीच विभिन्न बुदामा लिखित सहमति भएपछी आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेका छन ।
ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यस् अघि दुबै पक्ष बिच पटक पटक वार्ता हुँदै आएपनि कुरा नमिलेपछी उक्त वार्ता असफल हुँदै आएको थियो ।
तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बिच भएको वार्तामा सहमति जुटेको थियो । सोमवारको वार्ता सफल भएपछी गरुडा नगरपालिकाका मेयर,उप मेयर,वडा अध्यक्षहरुबिच लामो समयदेखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव,मतभेद र विवाद अन्त्य भएको जनाएका छन ।


