गढीमाई नगरपालिकाको गैरकानुनी असुली धन्दा,करको नाममा ट्रिपर व्यवसायीलाई लुट्दै

साझेदारी दैनिक
341 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको गढीमाई नगरपालिकाले करको नाममा लुट धन्दामा लागेको पाइएको छ ।

सो पालिकाले गैर कानुनी ढंगले नियम विपरीत आफुखुसी ट्रिपर व्यवसायीहरुसंग प्रति ट्रिपर तीन सय रुपैया कर असुली गर्दै आएको खुलेको छ । करको नाममा गढीमाई नगरपालिकाले आफुहरुलाई लुटने काम गरेको ट्रिपर व्यवसायीहरुको गुनासो छ ।

समनपुर गरुडा सडकखण्ड भएर सर्लाहीबाट रौतहट र रौतहटबाट सर्लाही ओहोर दोहोर गर्ने सयौं ट्रिपरवलाहरुसंग पालिकाले गैर कानुनी ढंगले प्रति ट्रिपर दुई सय देखी तीन सय रुपैयाँ कर वापत रकम असुली गर्दै आएको छ ।

गढीमाई नगरपालिकाको समनपुरघाट स्थित बागमति नदिमा रहेको पुल भएर सर्लाहीबाट नदीजन्य पदार्थ अर्थात बालुवा, गिट्टी र ग्रेवल खरिद गरेर ल्याउँदा पालिकाले प्रति ट्रिपर दुई सयदेखी तिन सय रुपैयाँ खुल्याम असुली गर्दै आएको खुलेको छ ।

कुनै पनि पालिका भित्र पर्ने नदी वा खोलाबाट मात्र उत्खन्न गरी नदीजन्य पदार्थ ढुवानी गर्दा सम्बन्धित पालिकाले पटके कर वापत प्रति ट्रिपर तिन सय र प्रति ट्याक्टर १ सय रुपैयाँ लिने कानुनी प्रावधान छ ।

त्यस्तै पालिकाभन्दा बाहिर अरु ठाउँ वा जिल्लाको क्रसर उद्योगबाट खरिद गरी भ्याट बिल सहित नदीजन्य पदार्थ ल्याउँदा सम्बन्धित पालिका बाहेक अरु पालिकाले कुनै प्रकारको शुल्क नलिने कानुनी व्यवस्था छ । तर गढीमाई नगरपालिकाले ठिक यो कानुनको विपरीत गएर दोहोरो कर लिने गरेको पाइएको छ ।

आइतवार सर्लाहीको बरहथवा नगरपालिकाको एक क्रसर उद्योगबाट नदीजन्य पदार्थ मिस ग्रेवल खरिद गरी रौतहट ल्याउँदा समनपुर स्थित बागमति नदिको पुलको छेउमा बसेका गढीमाई नगरपालिकाका कर उठाउने व्यक्तिले दुई जना ट्रिपरका चालकसंग प्रति ट्रिपर तीन सय रुपैया लिएपछि गढिमाई नगरपालिकाले नियम विपरीत रकम असुली गर्दै आएको तथ्य बाहिरिएको हो ।

अरु जिल्लाको क्रसर उद्योगबाट नदीजन्य पदार्थ ल्याउँदा टयाक्ट्र र ट्रिपरवलाहरुसंग अनाधिकृत रुपमा रकम असुल्ने गरेको गरुडा नगरपालिका–६ का एक जना ट्रिपर व्यवसायी विनोद जयसवालले गुनासो गरेका छन् ।

करको नाममा गढीमाई नगरपालिकाले आफुहरुलाई खुल्याम लुटने गरेको भएपनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको जयसवालले बताए ।

उनले भने, हामी सर्लाहीको बरहथवा नगरपालिकाको क्रसर उद्योगबाट नदीजन्य पदार्थ ल्याउँदा बरहथवा नगरपालिकालाई प्रति ट्रिपर तीन सय रुपैया कर तिर्ने गरेका छौ, पहिला नै बरहथवा नगरपालिकालाई तीन सय रुपैया कर तिरेर नदीजन्य पदार्थ ल्याउँदा गढिमाई नगरपालिकाले समेत तीन सय रुपैया कर लिएपछि आफुहरुलाई दोहोरो कर तिर्नु परेको छ।;’

आफनो तीन वटा ट्रिपर प्रत्येक दिन चार पटक सर्लाहीबाट रौतहट नदीजन्य पदार्थ लिएर आउने जाने गरेका छन, उनले अघि भने हामीले कुनै एउटा पालिकालाई मात्र कर तिर्ने हो तर गढीमाई नगरपालिकाको कारण दुईवटा पालिकालाई कर तिर्न बाध्य रहेको उनले बताए।

उनले भने गढीमाई नगरपालिका क्षेत्रभित्र पर्ने नदीबाट नदीजन्य पदार्थ उत्खन्न गरेर ढुवानी गर्दा मात्र गढीमाई नगरपालिकाले कर लिन पाउँछन त्यो जाएज हो तर पयो पालिका भन्दा बाहिरबाट खरिद गरेर नदीजन्य पदार्थ ल्याउँदा गढीमाई नगरपालिकाले बलजबरजस्ती कर लिनु सरासर अन्याय हो ।

गढीमाई जस्तो अरु पालिकाले यदि कर लिन थाल्यो भने गौर लैजादा ७ देखी ८ वटासम्म पालिकालाई कति कर तिर्नुपर्छ उनले प्रश्न गरे । गढीमाई नगरपालिकाको कारण ट्रिपर व्यवसायीहरुले दोहोरो अर्थात दुईवटा पालिकालाई कर तिर्न बाध्य छन ।

गढीमाई नगरपालिका क्षेत्रको नदी भन्दा बाहिरको पालिकाबाट नदीजन्य पदार्थ ल्याउँदा कर लिनु गैरकानुनी भएको गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले स्वीकार गरेका छन् ।

आफुहरुको विना जानकारी पालिकाका कर्मचारीले नियम विपरीत ट्रिपर व्यवसायीहरुसंग कर असुली गरेको अधिकृत यादवले बताए । आफुखुसी कर असुली गरिएको बारेमा आफु जाँचबुझ गरेर अबैध असुली गरिएको रकम फिर्ता गराउने उनले बताए ।

नगरपालिकाको सिस्टम सुधार गर्ने र सुशासन कायम गराउने दृढ संकल्पका साथ एक महिना अघि गढीमाई नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका श्रीदेव यादवमाथी अबैध असुली गरिएको रकम फिर्ता गराउने ठुलो चुनौति थपिएको छ ।

प्रशासकीय अधिकृत यादवले यदि साच्चै सुशासन कायम गराउन चाहन्छन भने नगरपालिकाले नियम विपरीत असुल गरेको रकम ट्रिपरवलाहरुलाई फिर्ता गराउनु पर्नेहुन्छ ।

यादवले उक्त अबैध असुली रकम फिर्ता गराउँछन कि गराउँदैनन त्यो हेर्न बाँकी छ ।

Leave a review

This will close in 0 seconds