वीरगञ्ज रक्सौल नाकामा रहेको मितेरी पुलमा राखिएको भारतीय एसएसबीको चेक पोष्ट हटेको छ ।
नेपाल भारत सीमा नाकाको मितेरी पुलमा यात्रुहरुको जाँचको लागि भारतीय एसएसबीले चेक पोष्ट स्थापना गरेको थियो ।पाँच महिना अघि गत असोज ३ गते एसएसबीले मितेरी पुलको डिभाईडरमा चेक पोष्ट राखेको हो ।
उसले त्यहाँ सुरक्षा जाँच गर्दै आएको थियो ।अत्याधिक भिडभाड हुने सो नाका हो । त्यसमा पनि पुलमै एसएसबीको चेक पोष्ट राखिएपछि दैनिक रुपमा ट्राफिक जाम हुदै आएको थियो ।
एसएसबीले नेपालबाट भारत र भारतबाट नेपालमा आउने मानिसहरु तथा तेस्रो मुलुकबाट वीरगञ्ज रक्सौल नाका भएर आवत जावत गर्ने मानिसहरुको निगरानीको लागि सो चेक पोष्ट थियो । उक्त चेकपोष्ट सोमबारदेखि भने भारतीय एसएसबीले हटाएको छ ।
पुल समेत साँघुरो भएकोले पुलमा जाँच गर्दा यात्रुहरुको भिड अत्याधिक भई जामको समस्याले यात्रु तथा किनमेलका लागि भारतको रक्सौल पुग्ने गरेका नेपाली नागरिकहरुले सास्ती खेप्दै आएका थिए । मितेरी पुलबाट हालका लागि चेकपोष्ट हटाइएको छ ।
अगामी दिनमा फेरि आवश्यकता परेका राख्न सकिने एसएसबीले जनाएको छ ।नेपाल र भारतबीच बेटी रोटीको सम्बन्धनलाई दृष्टिगत गर्दै तथा दैनिक हजारौं मानिसहरु किनमेलका लागि भारतीय बजार रक्सौलमा आवत जावत गर्ने गरेकाले पुलमा रहेको एसएसबीको चेकपोष्ट हटाइएको हो ।
चेकपोष्ट हटेपछि पुलबाट आवतजावत पनि पहिलेको भन्दा सहज भएको छ ।


