बाराको सदरमुकामलाई समेत छुने बहुप्रतीक्षित आयोजनाको रुपमा रहेको मानवत–मटिअर्वा सडकले अझै निर्माण कार्य सम्पन्न गर्न सकेको छैन ।
लामो समयदेखी निर्माण कार्य अधुरै रहेकले सो बारे बुझ्न संघीय संसदको सार्वजनिक लेखा समितिले विहीवार स्थलगत निरीक्षण गरेको छ ।
आयोजना सुरु भएको लामो समय भईसक्दा पनि निर्माण कार्य पुरा नभए पछी उक्त सडक खण्डको लेखा समितिका सदस्यहरुले स्थलगत निरीक्षण गरेका हुन् ।
सो अवसरमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको अथक प्रयास तथा संबिधानसभा सदस्य प्रमोद गुप्ता लगायतकाहरुको निरन्तर तगेदाका कारण समेत ठेकेदारले नटेरेपछी समितिले अनुगमन गरेको बताए ।
सो अवसरमा बोल्दै समितिका सदस्य सांसद अमरेशकुमार सिंहले अधुरो रहेको सडक निर्माण छिटो गर्न ठेकेदारलाई निर्देशन दिएका थिए ।
मानवत–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया स्थित संस्कार एफएमदेखि दुर्गा उच्च माध्यमिक विद्यालय बरेवासम्म साढे तीन किलोमिटर सडक बर्षौदेखी अलपत्र अवस्थामा छाडेर ठेकेदार कम्पन्नी फरार भएको छ ।
बषौदेखी सडक नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन् भने कलैया उपमहानगरपालिकाले पानी हालेपनि त्यसले थेग्दैन । सर्वसाधारणलाई हिँडडुल गर्न निकै कठिनाइ हुने स्थानीयहरुको गुनासो रहेका छन ।
धुलोधुँवाले हिँडडुल गर्न पनि समस्या भएपछि स्थानीयले पटक–पटक चक्काजामसमेत गरेका थिए । तर पनि हालसम्म उक्त सडक निर्माण हुन सकेको छैन ।
समितिका सदस्य माननीय प्रदिप यादवले हुलाकी सडकको अन्य खण्डहरुको अनुगमन सकेलगतै सडक आयोजना एवम ठेकेदारहरुलाई डाकेर यसबारे स्पष्टिकरण लिने र बर्षात अवागै सडक निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिने जनाए।
उक्त स्थलगत निरीक्षण गर्न पुगेका सार्वजनिक लेखा समितिका सदस्य पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव,रामकृष्ण यादव,अमरेश कुमार सिंह,वेद प्रसाद तिमल्सिना,प्रभु हजरा सांसदहरुको सहभागिता रहेको थियो ।
अनुगमनका अवसरमा सडक निर्माणको अवस्था,समस्या लगायतका विषयमा स्थानीय र सांसदहरुवीच छलफल समेत गरीएको थियो ।

