नेसनल मेडिकल कलेजका ल्याब इन्चार्ज साहलाई बोलायो प्रहरीले

साझेदारी दैनिक
564 पाठक संख्या

नेशनल मेडिकल कलेजको ल्याबमा म्याद नाघेका केमिकल फेला परेपछि पक्राउ परेर छुटेका कलेजका ल्याब ईन्चार्ज सञ्जय साहलाई बयानका लागि पर्सा प्रहरीले बोलाएको छ ।

गत चैत २६ गते अनुगमनको क्रममा म्याद गुज्रिएको केमिकल कलेजको ल्याबमा भेटिएको थियो । त्यसपछि प्रहरीले कलेजका एमडि शहनवाज अन्सारी र ल्याब ईन्चार्ज साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबैजना बिरुद्ध प्रहरीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्र्तगत मुद्दा दायर गरेको थियो ।

कालोबजारी मुद्दा चलिरहेकोले साहलाई बयानका लागि बोलाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

तीन चार दिन अघि बयानका लागि बोलाइएको भएपनि नेशनल मेडिकल कलेजमै भर्ना भएकोले उनी डिस्चार्ज भएपछि बयानको लागि आउने थापाले बताए ।

पक्राउ परेका दुबैजनालाई कालोबजारी मुद्दामा अदालतले पाँच दिनको म्याद थप गरेको थियो ।प्रहरीले हाजिरी जमानीमा दुबैजनालाई गत चैत २८ गते राति छाडेको थियो ।

मुद्दा चलि नै रहेको तथा सरकारी वकिलको कार्यालयले प्रहरी हिरासत बाहिर राखेर अनुसन्धान गर्न भनेकोले दुबैजनालाई बयानको लागि प्रहरीले बोलाएको बेला आउनुपर्ने डिएसपी थापाको भनाई छ ।

गत चैत २६ गते वीरगञ्ज महानगर,प्रहरी लगायतका सरोकारवाला निकायको अनुगमन टोलीले कलेजको ल्याबमा अनुगमन गर्दा म्याद गुज्रिएको केमिकल भेटिएको थियो ।कलेजका एमडि र ल्याब ईन्चार्जलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसपछि कलेजका कर्मचारी र स्वास्थ्यकर्मीहरुले त्यसको भोलि पल्ट जिल्ला प्रहरी कार्यालय अगाडि बिरोध प्रदर्शन पनि गरेका थिए ।

Leave a review