पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

साझेदारी डेलि
69 पाठक संख्या

कलैया । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारसँग माग गरेका छन्।

कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशका लागि इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताएका हुन्।

“कर्णालीमा विकट भूगोल भएकाले यहाँको जीवनयापन आफैंमा खर्चिलो छ,” उनले भने, “बाह्य तथा आन्तरिक पर्यटकको आवागमन सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु उपयुक्त हुँदैन।”

उनले छिमेकी देश भारतमा इन्धनको मूल्य वृद्धि नभएको उल्लेख गर्दै नेपालमा भने मूल्यवृद्धिले नागरिकमाथि थप आर्थिक भार परेको बताए। सरकारले मूल्य समायोजन गरी जनतालाई राहत दिनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष घिसिङले दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टीले सहयोग गर्ने पनि बताए। नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा तथा सरकारमा रहँदा कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको उनले जिकिर गरे।

उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको छ। छोटो समयमै पार्टी गठनका कारण संगठन व्यवस्थापनमा चुनौती देखिए पनि आगामी निर्वाचनमा उनेपा बलियो शक्तिका रूपमा प्रस्तुत हुने र वडा तहसम्म संगठन विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

Leave a review