बारा प्रहरीले ४८ लाख ४९ हजार दुई सय १६ रुपैयाँ बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय बाराका मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ८०३२ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त अवैध समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
उक्त ट्रकमा बिल भरपाई भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.४८ लाख ४९ हजार २ सय १६ रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।
ट्रकमा लोड रहेको हार्डवेयर पार्ट र अन्य खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

