बाराको निजगढमा खुवा व्यवसाय मौलाउँदै गरेको छ । निजगढमा २६८ जना किसानले व्यवसायिक रुपमा कराहीमा दूध घोटेर खुवा उत्पादन गरी वार्षिक १८ करोड रुपैयाँको कारोबार हुने गरेको कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रका प्रमुख सरोज कोइरालाले अनुमान गरेका छन् ।
निजगढका खुवा उत्पादक किसानलाई कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रले लेबलिङ,ब्राडिङ,प्याकेजिङ,बजारीकरण तथा अन्य प्राविधिक सहयोग गर्दै आएको उनले बताए ।
संस्थाको प्राविधिक सहयोगमा तिमिल्सिना परिवारले खुवा पकाउने मेसिन दिल्लीबाट ल्याएको छ । निजगढ नगरपालिका वडा नं.६ का पशुपालक किसान प्रेमप्रसाद दंगालले सामुदायिक डेरीहरूले दूध धेरै भएर नलिएको अवस्थामा किसानले निजी डेरीमा दूध बिक्री गर्ने गरेको जानकारी दिए ।
निजगढमा अहिले व्यावसायिक रुपमा तीन वटा उद्योगले खुवा उत्पादन गरेर देशका विभिन्न भागमा पु¥याउने गरेका छन् । पहिला दिनभर लागेर खुवा घोट्नुपर्थ्यो भने अहिले मेसिनबाट २० मिनेटमा २० लिटर दुधको खुवा तयार हुने गरेको कोईरालाले जनाए ।
पहिला ६० किलो दुधका लागि सय किलो दाउरा लाग्थ्यो भने अहिले २० किलो दाउराले पुग््रने गरेको उनले जनाए । निजगढमा उत्पादन भएको खुवा एक दिन बिराएर १० देखि ११ क्विन्टलसम्म काठमाडौँ जाने गरेको छ ।
निजगढको खुवा बनेपा,धुलिखेल,पनौती,जनकपुर र वीरगञ्जका मिठाइ पसलहरूमा पुग्ने गरेको छ । यस्तै सप्तरीको बाजेको पेडा भण्डार र स्थानीय बजार जाने गरेको स्थानीय किसानहरु बताउछन् ।
निजगढ नगरपालिका दूध उत्पादन,खुवा,मह र केरा खेतीका लागि प्रसिद्ध छ । किसानहरूले उत्पादन गरेका यी उत्पादनको ब्राण्डिङ, लेबलिङ र बजारीकरणमा भने निजगढ नगरपालिकाले सहयोग नगरेको किसानहरूको गुनासो छ ।
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले खुवाको उत्पादन तथा बजारीकरणका लागि चालु आर्थिक वर्षमा कुनै कार्यक्रम नभएको जानकारी दिए ।

