शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकारसितको सहकार्यमा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था आसमान नेपालद्वारा कलैयामा आयोजना गरिएको विद्यालय नेतृत्व तथा व्यवस्थापन तालिम शुक्रवार सम्पन्न भएको छ ।
महागढीमाई नगरपालिका,करैयामाई र देवताल गाउँपालिका गरी तीन पालिकाअन्तर्गतका ३२ विद्यालयका प्रधानाध्यापकहरुलाई उक्त तालिम दिइएको आसमान नेपाल खुसी परियोजनाका ‘फोकल पर्सन’ राजेश चौधरीले बताउनु भयो ।
प्रधानाध्यापकहरुको व्यक्तित्व क्षमता अभिवृद्धि,विद्यालय सुधारका लागि बनाउनुपर्ने योजना,रचनात्मक सिकाई र पठनपाठनलगायतका विषयमा तालिम दिइएको प्रशिक्षक आत्माराम भट्टराईले बताउनु भयो ।
प्रधानाध्यापकले विद्यालयमा सिकाई र विद्यालयको भलाईमा केन्द्रित भएर कसरी कसरी योजना बनाउने भन्ने मुख्य उदेश्यका साथ तालिम दिइएको उहाँले बताउनु भयो ।
तालिममा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, महागढीमाई नगरपालिकाका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत विजय कुसवाहा,सेभ द चिल्ड्रेनका अधिकारी चन्द्रदेव साहलगायतले विद्यालय विद्यालयको शिक्षा सुधारका लागि जोड दिनुभएको थियो ।
तालिममा आधारभुतदेखि माध्यमिक तहसम्मका शिक्षाकहरुको सहभागिता रहेको थियो । प्रधानाध्यापकसहित विद्यालयका अन्य शिक्षक र कर्मचारीको पेशागत दक्षता बढाउनुपर्नेमा उहाँहरुको जोड थियो ।
आसमान नेपालले सेभ द चिल्ड्रेनको समन्वय र सहकार्यमा विद्यालयको भौतिक संरचना निर्माण,विद्यार्थीको सिकाइका लागि कक्षामा खेलकुद तथा पठनपाठनका सामाग्री,फर्निचरलगायतमा सहयोग पुर्याउँदै आएको छ ।

