बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका ३ जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरी उनीहरुलाई पक्राउ गरेको हो ।
अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले चोरी मुद्दामा अदालतबाट २० दिन कैद र ५ हजार २ सय १६ रुपैयाँ जरिवाना पाएका बाराको कलैया उप–महानगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३९ वर्षीय राजेश महतोलाई पक्राउ गरेको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले लेनदेन बिगो मुद्दामा अदालतबाट १ हजार रुपैयाँ जरिवाना पाएकी जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ९ छातापिपरा बस्ने अन्दाजी ५२ वर्षकी ईन्द्रा देवीलाई पनि पक्राउ गरेको छ ।
त्यसैगरी वन कसुर मुद्दामा अदालतबाट ५ हजार २ सय १६ रुपैयाँ जरिवाना पाएका सोही उपमहानगरपालिका वडा नम्बर १० बस्ने अन्दाजी ४५ वर्षीय वन्तीलाल साहलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।


