पथलैया–हेटौँडा सड्क खण्डको २ किलोमिटरमा परीक्षणको रूपमा ‘नमुना सडक’ निर्माणको काम भईरहेको छ ।
करिब ५ करोड लगानीमा चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी नमुना सडक निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेश प्रसाद यादवले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अत्यधिक सवारी चाप रहेको पथलैया–हेटौडा दुई लेनको सडक खण्डमा सवारीको चाप अत्याधिक रहेको छ ।
यो सडक खण्डमा दैनिकजसो साना–ठुला सवारी दुर्घटनाहरू हुने गर्दछ । आधुनिक प्रविधिको प्रयोग गरेर उच्च भारवाहन क्षमता भएको सवारी साधन गुड्ने सक्ने नमुना सडक निर्माण गर्न लागिएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख यादवले बताए ।
पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको यो राष्ट्रिय राजमार्गमा वार्षिक दर्जनौँ वन्यजन्तुले दुर्घटनामा ज्यान गुमाएका छन् । साथै वीरगञ्ज भन्सारबाट छुटेका उच्च मालवाहक सवारी साधनको कारण यो सडकखण्डको अधिकांश भाग भासिएको छ ।
सरकारले तत्कालै पथलैया–भरतपुर करिब एकसय किलोमिटर सडकखण्ड विस्तार गर्न बजेट अभाव भएको कारण देखाउँदै २ किलोमिटर नमुनाको रूपमा निर्माण गर्न लागेको हो ।
सडक डिभिजन प्रमुख यादवले नयाँ प्रविधिको प्रयोग गरेर विशेष प्रकारको ४० ग्रेडको बिटविन प्रयोग गरिने जनाएका छन् । यो प्रविधिको सडक नेपालमै पहिलो हुने जनाईएको छ।
चौधरी निर्माण सेवा जनकपुरले सडक निमार्णको जिम्मेवारी लिएको छ । निकट भविष्यमा निमार्ण हुने पथलैयादेखि भरतपुर सडकखण्ड निमार्णको क्रममा भने पर्सा निकुञ्ज क्षेत्रमा ४ किलोमिटरमा वन्यजन्तुहरूका लागि आवातजावत गर्न फ्लाई ओभर बृज निमार्ण हुने जनाइएको छ । त्यसका लागि अहिले माटो परीक्षणको काम भइरहेको छ ।

