कलैया बरेवामा जन्मेका बुद्धिजिवी तथा शिक्षाविद् लक्ष्मण पौडेलको ८४ वर्षको उमेरमा आइतबार विहान निधन भएको छ ।
उनको अमेरीकास्थित क्यालिफोर्नियाको कन्कर्डमा नेपाली समय अनुसार विहान ५ बजे निधन भएको हो । उनी केहि वर्षदेखि मुटुरोग तथा निमोनियाबाट ग्रसित रहेका थिए ।
बनारस हिन्दु विश्वविद्यालयबाट उनले बि.ए. गरेका थिए । विद्यार्थी जीवनमा अखिल बनारस नेपाली छात्र संघका सोशल सेक्रेटरी उनी रहेका थिए । उनले छात्रवाणी पत्रिकाका लागी प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका थिए ।
श्री ३ चन्द्र स्कुल,कलैयामा समेत उनले शिक्षण गरेका थिए । उनले शिक्षा ईन्स्पेक्टर र जिल्ला शिक्षा अधिकारीको रुपमा केहि वर्ष सेवा गरेका थिए ।
कलैया रामराजा क्याम्पस स्थापनामा उनको योगदान रहेको थियो । उनी सो क्याम्पसका पूर्व संचालक समिति सदस्य तथा अध्यक्ष समेत रहेका हुन् ।
बहुदल व्यवस्था पछि २०४९ सालमा उनी वीरगञ्ज चिनी कारखानाका संचालक पनि भएका थिए ।
बिद्याथी जीवनमा डा. तारानाथ शर्मा र मनमोहन अधिकारीबाट उनी प्रभावित थिए । पौडेल बामपन्थी बिचारधारा राख्दथे । बारा जिल्ला एमाले जिल्ला कमिटिका सदस्य र केन्द्रिय प्रशिक्षण विभागमा समेत उनी आबद्ध थिए ।
उनको हजुरबुवा स्व.गोपीनाथ उपाध्याय तत्कालिन बरेवा देवीगञ्ज दरबारका पुरेत थिए । बुवा स्व. फणिनाथ उपाध्याय कलैयाका एक सभ्रान्त परिवारका व्यक्तित्व रहेका थिए ।
स्व. पौडेलको श्रीमती,दुई छोरी र एक छोरा छन् । उनका छोरा डा. राजेशकुमार पौडेल वरिष्ठ फेमीली मेडिसीन चिकित्सकको रुपमा कार्यरत छन् । उनी हाल कतारको एक अस्पतालमा कार्यरत रहेका छन् ।


