करण कुमार मिश्र/
रौतहटको कटहरिया नगरपालिकाको १०औं नगरसभा बुधबार सम्पन्न भएको छ ।
कटहरिया नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको १०औं नगरसभा उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको हो ।
नगरप्रमुख अजयप्रकाश जयसवालको सभाअध्यक्षतामा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४६ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभाले नगरको समग्र विकासका लागि ४६ करोड ६२ लाख ५४ हजारको आयव्यय सहितको बजेट प्रस्तुत गरेको हो ।
निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अजय प्रकाशले कृषि मिटरमा खपत हुने बिजुली महशुलमा शतप्रतिशत अनुदान,क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति,नगरभरि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन लगायतको क्षेत्रमा जोड दिदै कृषि सिचाइ लाई विशेष प्राथमिकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण,विशेष अनुदान,शशर्त अनुदान,राजस्व बाँडफाँड,समपुरक अनुदान,आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरिएको नगर प्रमुख जयसवालले बताए ।
शिक्षा,स्वास्थ्य,कृषि,यातायात,खानेपानी,विधुत,भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए ।
संघियताको कार्यान्वयन गर्दै नगरवासीलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउने,प्रकोप व्यवस्थापन गर्ने,विकास सुशासनको प्रत्याभुति दिलाउने,खालको निती तथा कार्यक्रम प्रस्तुत गरिएको नगरप्रमुख जयसवालले बताए ।
नगरपालिकालाई वातावरणमैत्री बनाउनका लागि धुँवारहित घोषणा गर्ने, नगर क्षेत्रको विकास तथा स्थानीयस्तरमा रोजगारी सृजनाका लागि लघु, घरेलु तथा साना उद्योग,कृषि र पशुपालनमा जोड दिनेलगायत क्षेत्रगत नीतिमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।
सो कार्यक्रममा सम्पुर्ण जनप्रतिनिधि,विभिन्न शाखाका शाखा प्रमुखहरु पालिका सम्पुर्ण कर्मचारी स्थानीय भद्र भलादमी बुद्धिजीवी लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

