जीतपुरसिमरामा काम गर्ने बाताबरण बनाईदिन मन्त्रीसँग माग

रञ्जन यादव
274 पाठक संख्या

नेपाली काँग्रेसका बारा जिल्ला युवा नेता श्यामबाबु गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई भेटेर जीतपुरसिमरा उपमहानगरपालिकामा काम गर्ने बाताबरण बनाउँन अनुरोध गरेका छन् ।

नेता गुप्ताले मंगलवार मन्त्रालयमा मन्त्रीलाई भेटेर जीतपुरसिमरा उपमहानगरपालिकामा भएको राजनीतिक बिवादमा कर्मचारीलाई असर पर्ने काम नगर्न अनुरोध गरेका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत पद नियम,कानुन संबत चल्ने पद भएकाले यसलाई राजनैतिक दृष्टिकोणले हेर्न नहुने तर्क गरे ।

मन्त्रीको गृह जिल्लासँग जोडिएको छिमेकी जिल्लामा बिवादका कारण उपमहानगरपालिकाको काम कारबाही प्रभाबित हुनु आफैमा दुखद बिषय भएको ह भन्दै नेता गुप्ताले यस्तो आग्रह गरेका हुन । उनले यसको असर बिकास निर्माणमा पर्न गएकोप्रती मन्त्री गुप्ताको ध्यानआकर्षण गराए । उनले जीतपुरसिमरा उपमहानगरपालिकाको बिवादमा अभिभावकत्व भुमिका देखाई समस्याको समाधान गर्न मन्त्री गुप्तासंग अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई कुनै बिवादमा नतानी उपमहानगरपालिकामा नै काम गर्ने बाताबरण बनाईदिन मन्त्रीसँग नेता गुप्ताले माग गरेका छन् । केहीदिन अघि मात्र नेकपा एमाले लगायतबाट निर्वाचित जनप्रतिनिधिको अनुरोधमा मन्त्री गुप्ताले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा गरेका थिए ।

उपमहानगरपालिकाको १० औँ नगर सभा प्रकरणमा माओवादीबाट निर्वाचित नगर प्रमुख राजन पौडेललाई साथ दिएको भन्दै उपप्रमुख सहितको जनप्रतिनिधिको दवावमा काफ्लेको सरुवा भएको थियो । उपमहानगरपालिकामा तीन महिना पनि राम्रोसँग काम गर्न नपाउँदै सरुवा गरिएपछि प्रमुख प्रशासकीय अधिकृत काफ्ले सर्वोच्च अदालत पुगेकी थिइृन ।

अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी गरेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हुने वा नहुने निष्कर्षमा पुग्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रमुख प्रशासकिय अधिकृत काफ्लेलाई साउन २० गते छलफलमा बोलाएको छ ।

यता १० नगरसभाको विषय उच्च अदालत जनकपुरको अस्थायी ईजालस वीरगञ्जमा विचाराधिन अवस्थामा छ ।

Leave a review

This will close in 0 seconds