कलैया :राजेश कुशवाहा / विभिन्न भगवान,देवी देउताको प्रतिमा बनाउने मूर्तिकार(कालिगढ) हरु सो पेशामा आत्मनिर्भर भईरहेका छन ।
पुर्खौदेखी गरीआएको यो पेशामा संलग्नहरु मूर्तिकारहरुको कमी भएपनि अझैपनि धेरै मूर्र्तिकारहरु यसै पेशालाई अगालेर आत्म निर्भर बनिरहेका छन ।
अहिले बारा जिल्लाका विभिन्न स्थानका मूर्तिकार(कालिगढ) हरुलाई मूर्ति बनाउन भ्याई नभ्याई छ । उनीहरुलाई अहिले देवी सरस्वतीको प्रतिमा बनाउ चटारो परेको छ ।
श्रीपञ्चमी पर्व नजिक आउन थालेपछि बाराका मूर्तिकारहरु विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन र बनाएका प्रतिमाहरुमा रंगरोगन गर्नमा ब्यस्त भएका छन्। जिल्लाको विभिन्न स्थानमा दुई महिना लगाएर माटोको सरस्वतीको प्रतिमा बनाएका मूर्तिकारहरु तीन दिन देखि रंगरोगनमा ब्यस्त भएका हुन् ।
सिम्रौनगढ नगरपालिका ३ नयका टोल निवासी मूर्तिकार नन्दलाल पंडितले रानीवास बजारमा यस बर्षको श्री पञ्चमी पर्वका लागि तीन दर्जन भन्दा बढी सरस्वतीको प्रतिमा बनाएको बताएका छन्। उनले मंसिर महिना देखि नै सरस्वतीको प्रतिमा बनाउन शुरु गरेको बताए।
पंडित सहित उनका तीन छोराहरु राधेश्याम पंडित,मणिभुषण पंडित र लवकुश पंडित मूर्ति बनाउने कार्यमा संलग्न छन्। उनले मूर्ति रंगरोगन गर्नका लागि भारतको मोतीहारी,दरभंगा, मुज्जफरपुर बाट रंग खरिद गरी ल्याएको बताए। उनले मेशिनको सहयोगले सरस्वतीको प्रतिमा रंगरोगन भईरहेको समेत बताए। यस वर्ष मूर्ति रंगरोगनका लागि २५ हजार नेपाली रुपैयाँको रंग किनेर ल्याएको जानकारी दिए ।
यस वर्ष रु एक हजार पाँच सय रुपैयाँ देखि लिएर रु आठ हजार रुपैयाँमा मूर्ति बिक्री गर्ने मूर्तिकार पंडितले बताए। आफुले बनाएको मूर्ति सिम्रौनगढ क्षेत्र स्थित निजी तथा सामुदायिक विद्यालय तथा सीमावर्ति भारतको अगरवा,सिवान कोरैया लगायतको स्थानमा बिक्री गर्ने गरेको बताए ।बिगत चार दशक देखि मूर्ति बनाउदै आईरहेको उनले बताए।
दुर्गा पूजा, महायज्ञ लगायतकोमा बिभिन्न देवी देवताको मूर्ति बनाउदै आईरहेको छु उनले भने। उनले एउटा मूर्ति पूर्ण रुपमा तयार गर्न रु एक हजार रुपैया खर्च लाग्ने गरेको समेत बताए।
दुई महिनाको कडा परिश्रम पश्चात मात्र समयै मूर्ति तयार गर्न सकिने उनले बताए। पंडितको छेउमा भारत आठ मोहानका मूर्तिकार वीरेन्द्र पंडितले समेत दुई दर्जन सरस्वतीको प्रतिमा बनाएका छन्।
उनी पनि सरस्वतीको प्रतिमा रंगरोगन गर्नमा ब्यस्त थिए। यस वर्ष श्री पञ्चमी पर्व माघ २१ गते सोमबार परेको छ।


