नारायणीमा दैनिक सात जना सर्पदंशका विरामी भर्ना हुदै,घटनामा वृद्धि

राम मण्डल
335 पाठक संख्या

पछिल्लो समय मौसममा आएको परिवर्तनका कारणले पर्सा बारासंगै मधेस प्रदेशमा सर्पदंशका घटनाहरुमा बृद्धि भएको छ ।

पर्सा बारासँगै रौतहट सर्लाही लगायतका मधेश प्रदेशका जिल्लाहरुमा सर्पदंशका घटनाहरुमा बृद्धि भएको छ । मधेस प्रदेशकै ठुलो सरकारी अस्पतालमा अहिले दैनिक सातबटा सर्पदंशका बिरामीहरु उपचारको लागि आउने गरेका छन ।

बैशाख देखि असार मसान्त सम्म नारायणी अस्पतालमा छ सय ४२ जना सर्पदंशका बिरामीहरुले उपचार गराएका छन् । सर्पदंशका शिकार तीन जनको मृत्यु भएको थियो ।जसमा दुई जना मृत अवस्थामा नै अस्पतालमा आएको अस्पतालले जनाएको छ ।

एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका ईमरजेन्सी शाखाका प्रमुख डा.उदयनारायण सिंहले साझेदारी दैनिकलाई जानकारी दिए ।अस्पतालमा पछिल्लो समय पर्सा देखि सर्लाही सम्मका सर्पदंशका बिरामीहरु आउने गरेका छन्।

अस्पतालमा छुट्टै सर्पदंश उपचार केन्द्र नरहेकोले ईमरजेन्सीमै उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।बढदो गर्मी तथा पानी समेत परेका कारणले यस्तो मौसममा सर्पदंशको घटना बढी हुने गरेको छ ।

जसले गर्दा अस्पतालमा दैनिक रुपमा आधा दर्जन भन्दा बढी सर्पदंशका बिरामीहरु उपचारको लागि आउने गरेको सिंहको भनाई छ । ईमरजेन्सीमै एउटा भेन्टिलेटर राखेर सर्पदंशका बिरामीहरुलाई उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा दैनिक डेढ सय जना बिरामीहरु ईमरजेन्सीमै उपचारको लागि आउने गरेका छन्। जसमा एक जना डाक्टर,दुई जना पारामेडिक्सको भरमा उपचार गर्दा समस्या भएको चिकित्सकहरु बताउँछन ।

सरकारले सरकारी अस्पतालहरुमा सर्पदंशका बिरामीहरुलाई औषधिसँगै उपचार र एन्टिभेनम पनि निःशुल्क रुपमा उपलव्ध गराउने गरेको छ । मधेस प्रदेशको पर्सा बारासँगै अन्य जिल्लाहरुमा गोमन,करैत लगायतका सर्पहरुले मानिसहरुलाई बढी डस्ने गरेको पाइएको छ ।

Leave a review

This will close in 0 seconds