सुत्केरी महिला मृत्यु प्रकरण : दोषीलाई कार्यवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि आन्दोलन स्थगित

साझेदारी दैनिक
343 पाठक संख्या

रौतहट,२२ भदौ । ओम प्रकाश यादव/ रौतहटको गरुडा नगरपालिका–५ शिवनगर बर्थिङ सेन्टरमा बच्चा जन्माउने क्रममा मृत्यु भएको सुत्केरी महिलाको परिवारलाई क्षतिपुर्ती दिने सहमती भएको छ ।

महिलाको मृत्यु भएको घटनामा दोषी चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडामा गएराति बसेको दुईपक्षीय बैठकमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने,घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने र अस्पतालमा तोडफोड गर्नेलाई कारबाही गर्ने सहमति भएको छ ।

गरुडा नगरपालिका र पीडित परिवारबिच उक्त समझ्दारी भएको छ । बैठकमा सहभागी गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद कल्वारले पीडित परिवारलाई तत्कालको लागि राहत स्वरुप पालिकाको तर्फबाट दुई लाख रुपैयाँ उप्लब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

दुबै पक्षबिच उक्त तीन बुन्दे सहमती भएलग्तै पीडित परिवार र उनका आफन्तजनहरुले शिवनगर स्थित गौर चन्द्रनिगाहपुर सडक अबरुद्ध गरि शव राखेर शुक्रबार विहानै देखि गर्दै आएको आन्दोलनका सम्पुर्ण कार्यक्रम रातीदेखि नै स्थगित गरेका छन ।

पीडित र स्थानीय सरकारबिच भएको सहमती अनुसार गएराति ११ बजे शिवनगर स्थित अबरुद्ध बाटो खुलाएर मृतक सुत्केरी महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन ।

दुई पक्षीय बैठकमा गरुडाका मेयर कन्थमणि प्रसाद जयस्वाल,नेकपा एसका नेता एवं मेयरका प्रत्याशी ब्रिज किशोर यादव,जसपा नेपालका नेता अनिल कुमार यादव,नेपाली कांग्रेसका नेता सुनिल कुमार यादव, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामनरेश राय यादव,रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरे,सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं,वडा अध्यक्ष रामबाबु चौधरी लगायत पीडित परिवारका प्रतिनिधिको सहभागीता रहेको थियो ।

गएको बिहीबार साझ सुत्केरी गराउन शिवनगर स्थित प्रसुती गृहमा गएकि गरुडा नगरपालिका- ५ शिवनगरका अरबिन्द साह सोनारको श्रीमती वर्ष २२ की रमिता देवीको अत्याधिक रक्तस्राव भएर मृत्यु भएको थियो ।

सुत्केरी बेथा लागेपछी घरका सदस्यहरुले उक्त अस्पतालमा लैजादा रमिताले नर्मल अवस्थामा नै बच्चा जन्माएकी थिइन । तर बच्चा जन्माउने बितिकै योनिबाट अत्याधिक मात्रामा रगत बग्न थालेपछी थप उपचारका लागि बिरगंज लैजादा चिकित्सकले उनलाई शुक्रवार बिहान मृत घोषणा गरेका थिए ।

चिकित्सकको चरम लापरबाहीले अत्याधिक रक्तस्राव भएर उक्त महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका थिए ।
उपचारमा चिकित्सकले गम्भीर लापरबाही गरेका कारण रगत बगेर रमिताको मृत्यु भएको भन्दै आक्रोशित पीडित परिवारले शुक्रबार दिनभरी अस्पताल अगाडि प्रदर्शन गर्दै अस्पतालमा तोडफोड समेत गरेका थिए ।

उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कार्यवाही र उचित क्षतिपुर्तीको माग गर्दै पीडित परिवार र उनका आफन्तहरूले शुक्रवार दिन भरी स्वास्थ्य चौकी शिवनगर अगाडि शव राखेर प्रदर्शन गरेका थिए ।

जस कारण शुक्रवार दिनभर शिवनगरको अवस्था निकै तनावग्रस्त बनेको थियो ।

अस्पतालमा क्षती हुन नदिन हिजो दिनभरी नेपाल र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो ।

तर दोशिलाइ कार्यवाही र पीडितलाई क्षतिपुर्ती दिने सहमती भएपछि पीडित परिवार र आफन्तहरुले राती ११ बजेदेखी नै आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएसंगै आज विहान देखि शिवनगरको अवस्था सामन्य बनेको छ ।

एक महिना अघि पनि चिकित्सककै लापरबाहीले शिवनगर बर्थिङ सेन्टरमा सुत्केरी गराउन गएकि गरुडा नगरपालिका-३ मलाहीटोलकि एक महिलाको अत्याधिक रक्तस्राव भएकै कारण मृत्यु भएको थियो ।

एक महिना भित्रमा सो अस्पतालमा दुई जना सुत्केरी महिलाको ज्यान गएपछि स्थानीयहरु सो अस्पतालका चिकित्सकमाथी निकै आक्रोशित भएका छन ।

Leave a review