अन्तर्राष्ट्रिय दातृ निकाय (गैर सरकारी संस्था) सेभ द चिल्ड्रेन र आसमान नेपालको संयुक्त साझेदारीमा सञ्चालित शैक्षिक तथा कृषि अन्तर्गतको आय आर्जन कार्यक्रमको दुई दिने अनुगमन गरिएको छ ।
खुशी परियोजना अन्तर्गत बारा जिल्लाको महागढीमाई नगरपालिका,करैयामाई र देवताल गाउँपालिकाको विभिन्न वडामा मंगलवार र बुधवार अनुगमन गरिएको हो ।
दुई बर्षदेखि सञ्चालित कार्यक्रमको अनुगमनमा सेभ द चिल्ड्रेनका नेपाल भुटान कन्ट्री निर्देशक तारा क्षेत्री, मानव विकास संशाधन विकासकी निर्देशक सुलक्षणा ताम्राकार,आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादव,फिल्ड कार्यालय बर्दिवासका मधेस प्रदेश प्रमुख धना भुषाल,सेभ द चिल्ड्रेन बाराका प्रमुख चन्द्रदेवप्रसाद साह,आसमान नेपाल बाराका प्रमुख रामसुन्दर नेपाली,पालिकाका सम्बन्धित वडाध्यक्षहरु लगायतले अनुगमन गरेका हुन् ।
संस्थाले संयुक्त साझेदारीमा शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकारसितको सहकार्यमा विद्यालयको भौतिक पूर्वाधार निर्माण,मरम्मत,विद्यालयमा सिकाई विधि,शैक्षिक तथा खेलकुद सामाग्री वितरण,वैकल्पिक शिक्षा प्रदान गर्दै आइरहेको छ ।
यस्तै जग्गा भाडामा लिएर अति विपन्न दलित परिवारलाई सामूहिक तरकारी खेती गर्न लगाई बालबालिकाको शैक्षिक विकासमा सहयोग पुरयाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
परियोजना अन्तर्गत सञ्चालित आय आर्जन कार्यक्रमबाट बालबालिकाको पढाई,घर खर्च,वचत लगायतको कार्यमा सहयोग मिलेको करैयामाई गाउँपालिका ४ की रेनुका पासवानले बताइन् ।
पाँच विघा खेतमा तरकारी खेती गरेर त्यही तरकारी बेचेर हुने आम्दानीबाट बालबालिकालाई पढाउँदै खुशीका साथ जीविकोपार्जन भइरहेको अनुगमन आएका टीली समक्ष बताइन् । तीनवटै पालिकाको ६८ वटा विद्यालयमा शैक्षिक सुधार कार्यक्रम सञ्चालनमा छ ।
तालीम मार्फत प्रधानाध्यापकहरुको व्यक्तित्व क्षमता अभिवृद्धि, विद्यालय सुधारका लागि बनाउनुपर्ने योजना,रचनात्मक सिकाई र पठन पाठन लगायतका विषयमा तालिम दिइ शैक्षिक विकासका लागि संस्थाले योदान पुर्याइरहेको छ ।
मधेसमा साक्षरता बढाउन र गरिबीको चपेटामा रहेका भुमिहीन,दलित,विपन्न परिवारलाई आयआर्जनमा सहभागी गराई उनीहरुको जस्वनस्तरमा परिवर्तन ल्याउन कार्यक्रमले मद्दत पुरयाइरहेको छ ।


