जीतपुर : बारा जीतपुरका कलवार समुदायले आफनो कुल देवता भगवान बलभद्रको पुजा भब्यताका साथ मनाएका छन् ।
कलवार कल्याण समिति जीतपुरले पुजापाठ र बिभिन्न कार्यक्रम गरी मनाएका हुन् । सो अवसरमा जीतपुरमा भब्य शोभा यात्रा निकालिएको थियो । जीतपुर मुख्य बजार क्षेत्रमा शोभा यात्राको समयमा झाँकी तथा घोडाद्वारा घोड्दोड गरिएको थियो ।
कलवार समुदायले भगवान बलभद्रको पुजा आराधना,दिवाभोज,प्रसाद वितरण गरेका छन् । प्रत्येक वर्षको भदौ शुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाइने गरिन्छ । भगवान कृष्णको दाईलाई बलभद्र भगवानको रुपमा चिनिन्छ ।
शास्त्रीय अनुसार बललाई शक्ति र भद्रलाई अन्नको रुपमा परिभाषित गरिन्छ । बलभद्र भगवानलाई भात,विशेष किसिमको दाल र पाँच थरीको तरकारीको चढाउने प्रचलन छ । सामुहिक पूजाको मुख्य जजुमानको रुपमा भने स्थानीय कलवार समुदायका फुर्तीलाल प्रसाद कलवार र उनकी पत्नी सुनैना देवीले पूजाको अवधी भर उपवास (चौका) बसी पूजालाई पूर्णता दिलाएका थिए ।
भगवानको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ । कलवार कल्याण समिति जीतपुर बाराका अध्यक्ष कन्हैया प्रसाद गुप्ताको अध्यक्षता पुजा लगायतका अन्य कार्यक्रमहरु भएका थिए । ।
सयौंको संख्यामा रहेका श्रद्धालु भक्तजनहरुको सहभागितामा पूजा स्थलबाट निकालिएको शोभा यात्रा जीतपुर परिक्रमा गरेको थियो ।


