जीतपुरसिमराका निजी जग्गा हुनेहरु मालपोत कर काहाँ तिर्ने बिषयमा अन्योल

रञ्जन यादव
346 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र निजी जग्गा हुनेहरु मालपोत कर तिर्ने बिषयमा अन्योलमा परेका छन् ।

उपमहानगरपालिकाले गुठी संस्थानमा बुझाउँदै आएको मालपोत कर वडा कार्यालयमा बुझाउँन भनी सूचना जारी गरेपछि यसरी अन्योलमा परेका हुन ।

जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगर सभाको निर्णय नम्बर १३ अनुसार तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ को दफा ३ को व्यवस्था अनुसार आर्थिक वर्ष २०८१/२०८२ देखी गुठी संस्थानको कर उपमहानगरले संकलन गर्ने निर्णय गरेको कारण सम्पुर्ण वडा कार्यालयहरुलाई उपमहानगरपालिका क्षेत्र भित्रको जग्गाहरुको मालपोत कर बुझिलिन उपमहानगरपालिकाको अधिकृत छैठो राम प्रसाद शर्मा पौडेलले एक सचना मार्फत अनुरोध गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले भुमि तथा मालपोत कर उठाउँने अधिकार स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्ने भएकाले गुठी संस्थामा बुझाउँदै आएको मालपोत कर पनि उपमहानगरपालिकाले उठाउँन गईरहेको जानकारी दिए ।

उनले नेपालको संबिधानको अनुसुचि ८ धारा ५७ को उपधारा (४ ),धारा २१४ को उपधारा(२),धारा २२१ को उपधारा(२)र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित स्थानीय तहको अधिकार सुचीमा मालपोत कर उठाउँने अधिकार दिएको प्रष्ट पारे ।

तर गुठी संस्थान शाखा कार्यालय बिरगंज ,पर्साले गुठि संस्थामै मालपोत कर बुझाउँदै आएका निजीहरु गुठी संस्थामै कर बुझाउँन अनुरोध गरेको छ । गुठी संस्थान शाखा कार्यालय बिरगंजका प्रमुख चुडामणि घिमिरेले गुठी संस्थानले मालपोत कर उठाउँने अधिकार जीतपुरसिमरा उपमहानगरपालिकालाई नदिएको र दिँदा पनि नदिने तर्क गरे ।

उनले उपमहानगरपालिका वा वडा कार्यालयमा मालपोत कर तिरेको भए पनि गुठी संस्थानले त्यस्ता ब्यक्तिसँग मालपोत कर उठाउँने प्रष्ट पारे । गुठी संस्थान शाखा कार्यालय पर्साका प्रमुख घिमिरेले स्थानीय तहलाई राजश्व उठाउने अधिकार भएको तर गुठीको देवसो उठाउँने अधिकार नभएको बताए । उनले सबै नगरपालिकाले नै उठाउँने हो भने मठ,मन्दिर,पुजापाठ र धर्म सँकस्कृती कसरी चल्छ ? भन्नी प्रति प्रश्न गरे ।

जीतपुरसिमरा उपमहानगरपालिकाका बासिन्दाहरु गुठीमा तिर्दै आएको मालपोत कर अब कहाँ तिर्ने भनेर अन्यौलयमा रहेको प्रतिक्रिया दिएका छन् । वडा नं.७ जीतपुरका बासिन्दा श्रीराम साहले यो भन्दा पहिला हामीले वडामा नै मालपोत कर बुझाएका थियौ तर गुठी संस्थान बिरगंजले नमानेपछि पुन बुझाउँनु परेको समस्या सुनाए ।

Leave a review

This will close in 0 seconds