गैर आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण आयोगद्वारा माग

साझेदारी दैनिक
335 पाठक संख्या

काठमाण्डौं : स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगको बिहीबारेको निर्णयबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएको छ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका हुन्।

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन,२०७३ को दफा २५को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।

नागरिकता ऐन,२०६३(संशोधन सहित) को दफा ठ(क) को उपदफा (द्द) को खण्ड (ख) मा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नु पूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला निर्वाचन कार्यालयमा मिति २०८१ कार्तिक ५ गते भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्ने मतदाताको नाम मतदाता नामावलीबाट हटाइ मतदाता नामावली अद्यावधिक गरिने विज्ञप्तिमा लेखिएको छ।

Leave a review

This will close in 0 seconds