श्रम तथा उत्पादन अभियान अन्तर्गत कोल्हवीमा वाईसीएलको वृक्षारोपण

साझेदारी दैनिक
233 पाठक संख्या

निजगढ : उमेश घलान / दुई महिने ‘श्रम तथा उत्पादन अभियान’ योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले बारा जिल्लाबाट औपचारिक रूपमा सुरु गरेको छ।

कोल्हबी नगरपालिका–९, अडम्बाबाट शुरु भएको यस अभियानमा २५ सय बढी विरुवाको वृक्षारोपण गरिएको छ। वाईसीएल बाराका अध्यक्ष सिकेन्द्र कुशवाहाको अध्यक्षतामा सो वृक्षारोपण गरिएको हो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो।

श्रम, सिर्जना र उत्पादनलाई अभियानको मूल मन्त्र बनाउन आग्रह गरे। यसले देश रूपान्तरणको बाटोमा अघि बढ्न सकिने उनले जनाए। सिर्जनशील श्रम, स्वावलम्बी जीवनशैली र सामूहिक उत्पादन नै समृद्धिको आधार रहेको उनको भनाई थियो।

कार्यक्रममा वाईसीएल मधेस प्रदेश इन्चार्ज देवसरण कानु, बारा इन्चार्ज रुकु पाख्रीन, केन्द्रीय सदस्य राजन पौडेलको विशेष सहभागिता रहेको थियो। उक्त कार्यक्रममा प्रदेश सदस्यहरू रविराज दंगाल, तपेश्वर चौधरी, देवेन्द्र पराजुली र निजगढ नगर अध्यक्ष सन्तोष दंगाललगायत सहभागी थिए ।

वक्ताहरूले श्रम र उत्पादनलाई राष्ट्रिय स्वाभिमानसँग जोडेका छन्। उनीहरुले युवालाई रचनात्मक र जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरे। अभियानको आवश्यकतामा जोड दिए। श्रमको अवमूल्यन हटाएर त्यसलाई सामाजिक रूपान्तरणको आधार बनाउन आवश्यक रहेको वक्ताहरुले भनेका थिए।

अभियान अन्तर्गत वृक्षारोपण, सरसफाइ, सामूहिक उत्पादन, स्थानीय रोजगारी सिर्जना, सामाजिक जागरण र युवाको सिर्जनात्मक क्षमतालाई संगठित गर्नेजस्ता कार्यक्रम वाइसिएलले सञ्चालन गर्नेछ। ’श्रम गरौं, उत्पादन बढाऔं, देश बनाऔं’ भन्ने नारासहित अभियान सञ्चालन भएको हो। ग्रामीण क्षेत्रमा संगठन विस्तार, कृषि तथा साना उद्यममा युवाको सहभागिता र वातावरण संरक्षण अभियानका प्रमुख विषय यो अभियानको रहेको हो।

Leave a review