लोकतन्त्र एवम् गणतन्त्र रहेसम्म नेता धनी र देश कंगाल हुँदै जाने भएकोले व्यवस्था फाल्नुपर्ने प्रसाईको भनाई

साझेदारी दैनिक
421 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ लोकतन्त्र एवं गणतन्त्र रहेसम्म नेताहरु धनी हुँदै जाने र देश कंगाल हुँदै जाने कुरा दुर्गा प्रसाईले बताएका छन् ।

नागरिक बचाउ महा अभियानका जिल्ला कमिटीले रौतहटको गरुडामा आइतबार आयोजना गरेको विशाल जनजागरण सभालाई सम्वोधन गर्दै अभियानका केन्द्रिय संयोजक प्रसाईले वर्तमान व्यवस्था फाल्नुपर्ने बताएका हुन्।

नेताहरुले लोकतन्त्रको नाममा भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेर आफू धनी भएको उनले जनाए। देश तथा आम जनता गरिव हुँदै गएकोले संघीयता एवं लोकतन्त्रलाई फालेर जनता मालिक हुने व्यवस्था ल्याउनुपर्ने प्रसाईले बताएका हुन्।

लोकतन्त्रमा जनता मालिक हुने भनिएपनि यहाँ नेता र नेताका आसेपासेहरुको मात्र हालीमुहाली रहेको उनले जनाए। आम जनता निरीह एवं लाचार भएर बसेको उनले भनाई थियो।

लोकतन्त्रमा जनतालाई मालिक बनाउने भनी एमाले,कांग्रेस लगायतका दलले जनतालाई आन्दोलन गर्न उक्साएर राजतन्त्रलाई फाली लोकतन्त्र स्थापना गराएको उनले जनाए। आज जनता लाचार भएको र नेता मालामाल हुँदै गएको उनले बताए।

कुनै बेला अरु देशलाई सहयोग गर्ने नेपाललाई अहिलेका नेताहरु भिख माग्ने देश बनाइदिएको उनको टिप्पणी थियो । एक नेपालीको टाउकोमा ८० हजार वैदेशिक ऋण बोकाएर सर्वसाधारणा जनतालाई जाँतोमा पिस्ने काम गरेको उनले जनाए।

संघीयता एवं लोकतन्त्रलाई खारेज गरी जनता मालिक हुने व्यवस्था ल्याउनका लागि आफूले देश व्यापी रूपमा जनतालाई जागरुक गराउन अभियान नैं चलाएको उनले बताए ।

१६ जना मारवाडी,१० जना बिचौलिया,३० जना भ्रष्ट नेता लगाएत ६० जना मिलेर यो देशलाई चरम गरिवीको भुमरीमा फसाएको उनले आरोप लगाए। देशलाई बर्बाद गर्ने तर्फ लागेकोले देशलाई बर्बाद हुनबाट जोगाउन आफू लागि परेको उनले बताए।

अहिले अधिकांस जनता बैंक,सहकारी,लघुवित्त संस्था र मीटर व्याजबाट पीडित हुँदा पनि राज्यले जनताको यी समस्या समाधान गर्ने तर्फ ध्यान नदिएको उनको आरोप थियो।

बैंक,सहकारी,लघुवित्त संस्था र साहु महाजनबाट चर्को ब्याजदरमा लिएको ऋणको सावाँ तथा व्याज तिर्न नसकेर जनताका छोराछोरी कोही विदेश पलायन भएका छन् उनले भने। कोही ऋणको भारीले आत्महत्या गर्न बाध्य हुँदा पनि राज्य निरीह भएर बसेको उनले आरोप लगाए।

आम नागरिकको रक्षाका लागि आफूले नागरिक बचाउ अभियान सञ्चालन गरेको उनले बताए।

आफ्नो अभियानको माध्यमले बैंक वा सहकारी संस्थाबाट लिएको २० लाख भन्दा मुनिका ऋण मिनाहा गराएरै छाडने प्रसाईले सो साधारण सभामा उदघोष गरे।

त्यस्तै बैंक,सहकारी,लघुवित्त संस्था वा मीटर व्याजबाट पीडित गरिव,विपन्न,असहाय एवं सर्वहारा वर्गलाई ऋण र ब्याज बाट मुक्ति दिलाएरै छाडने उनले दाबी गरे ।
बैंक, सहकारी, वित्तीय संस्था र मीटर ब्याजबाट पीडित जनताले न्याय नपाएसम्म आफ्नो आन्दोलन जारी नै रहने उनले बताए।

भ्रष्ट नेता,चोर,दलाल,तस्कर,पूँजीवाद,लोकतन्त्र र गणतन्त्रका विरुद्ध आफ्नो सांस रहुन्जेलसम्म लडिरहने उनले बताए।

आफू बैंक,सहकारी,लघुवित्त संस्था र मीटर व्याजबाट पीडित गरिव,शोषित,पीडित एवं सर्वहारा वर्गका लागि लडिरहेकोले राज्यबाट दमन शोषणमा परेका सम्पूर्ण पीडित नागरिकलाई आफ्नो अभियानलाई साथ दिन उनले सबैसंग आग्रह गरे।

Leave a review

This will close in 0 seconds