बाराका स्थानीय तहहरुले कवाडी कर संकलनमा हस्तक्षेप नर्गन आग्रह

साझेदारी दैनिक
320 पाठक संख्या

कलैया : बाराका स्थानीय तहहरुले कबाडी कर र पूर्वाधार उपयोग कर संकलनमा कुनै वाधा व्यवधान नगर्न भनेका छन्।

उनीहरुले यहाँका स्थानीय तहले पटके सवारी कर संकलन नगरेको प्रष्ट पार्दै प्रदेश तथा संघीय सरकारलाई कर संकलनमा व्यवधान नगर्न तथा सहयोग गर्न आग्रह गरेका हुन्।

स्थानीय तहहरुका प्रमुखहरुले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले कबाडी कर र पूर्वाधार उपयोग कर उठाउनमा संघीय सरकार प्रदेश सरकार तथा सो मातहतका निकायहरुलाई वाधा व्यवधान नगर्न भनेका हुन्।

जिल्लाका स्थानीय तहहरुको प्रमुखको सोमबार कलैयामा बसेको बैठकले यस्तो अनुरोध गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई पत्राचार गरी स्थानीय सरकारहरुले पटके सवारी कर उठाउन नपाउने जानकारी दिएको हो।

नेपालको संविधानको धारा ५७ धारा २२१ धारा २२६ को अनुसूचि ८ को स्थानीय तहको एकल अधिकार र स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ९ को गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकार क्षेत्र भित्र कबाडी तथा पूर्वाधार उपयोग कर उठाउने व्यवस्था रहेकोले बारा जिल्लाका स्थानीय तहले सोही अनुसार कर संकलन गरेको प्रष्ट पारिएको छ।

संघ,प्रदेश र स्थानीय तह ( समन्वय तथा अन्र्तसम्बन्ध )ऐन २०७७ अनुसार सहयोग गर्ने अनुरोध गर्ने निर्णय गरेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोदप्रसाद साह,जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको हस्ताक्षर रहेको छ।

यस्तै प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवाल,देवताल गाउँपालिकाका अध्यक्ष उदयप्रसाद यादव,बारागढी गाउँपालिकाका अध्यक्ष अशोकप्रसाद जैसवालले बुधबार संयुक्त प्रेस विज्ञप्तिमा जारी गरेका थिए ।

Leave a review

This will close in 0 seconds