उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी गरियो अन्तरक्रिया

साझेदारी दैनिक
265 पाठक संख्या

काठमाण्डौं : यही मंसीर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचन,२०८१लाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्र्तक्रिया गरिएको छ।

निर्वाचन आयोगबाट मुख्य निर्वाचन अधिकृत,निर्वाचन अधिकृत तथा प्रदेश एवम् जिल्ला निर्वाचन अधिकारीहरुसँग अभिमुखीकरण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आयोगको कार्यालय,कान्तिपथ काठमाडौमा भौतिक उपस्थिति र अनलाईन उपस्थिति (दुवै माध्यम)बाट सो अन्र्तक्रिया गरिएको हो।

सो कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका सन्दर्भमा हालसम्म सम्पन्न गरेका तथा आगामी दिनमा सम्पन्न गर्नुपर्ने कार्यहरुबारे संक्षिप्त रुपमा प्रकाश पारे।

उनले आ–आफ्नो काम,कर्तव्य र अधिकार प्रति सवै सचेत र प्रतिबद्ध रहनुपर्ने बताए। निर्वाचन आयुक्त सगुन समसेर ज.ब.राले निर्वाचन आयोगको संवैधानिक दायित्व समेतलाई दृष्टिगत गरी उपनिर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष र विश्वसनीय बनाउन अन्तरक्रियाले सबैलाई मद्दत पुगेको जनाए।

उनले सोही अनुसार व्यवस्थापन र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने कुरामा जोड दिए। अन्तरक्रिया कार्यक्रममा उपनिर्वाचन सम्बन्धी संवैधानिक एवम् कानूनी व्यवस्था,जनशक्ति,सामग्री, आर्थिक,सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन,मतदान,मतगणना,आयोगको अपेक्षा र धारणा लगायतका विषयमा आयोगका प्रमुख निर्वाचन आयुक्त,निर्वाचन आयुक्त,सचिव र सहसचिवहरूबाट सहजीकरण तथा अन्तरक्रिया गरिएको थियो।

उक्त कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया,निर्वाचन आयुक्त सगुन समसेर ज.ब.रा.,सचिव रविलाल पन्थ,मुख्य निर्वाचन अधिकृतहरू,निर्वाचन अधिकृतहरु,आयोगका सहसचिवहरु प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरु लगायतको सहभागिता रहेको थियो।

Leave a review