रौतहट । ओम प्रकाश यादव/ रौतहटको गढीमाई नगरपालिका -८ को अध्यक्षमा नेकपा एकिकृत समाजवादीका बजरंगी प्रसाद यादव निर्वाचित भएका छन्।
आज बिहान ४ बजेको समयमा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा यादव २४ मतले वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनले कुल ६ सय ५५ मत ल्याएर विजयी भएका हुन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउती देवी यादवलाई २४ मतान्तरले पराजित गर्दै यादव विजयी प्राप्त गरेका छन्।
एमालेकी जिउती देवी कुल ६ सय ३१ मत प्राप्त गरेकी छन्। त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुबोध कुमार यादवले कुल ६ सय १७ मत पाएका छन्।
निर्वाचनमा मतगणनाको सुरु देखि नै नेकपा एमाले अग्रता कायम राखेका थिए तर अन्त्यमा एक्कासी नेकपा एकीकृत समाजवादीले जीत हात पारेका छन्।
चुनावमा नेकपा एस, नेकपा एमाले र नेपाली कांग्रेस बीच निकै कडा प्रतिस्पर्धा भएको थियो । त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सन्देश प्रसाद यादवले जम्मा २ सय ५८ मतमै चित बुझाएका छन्।
जनमत पार्टीले जम्मा ८ मत मात्र प्राप्त गरेका छन्। निर्वाचनमा कुल मतदाता संख्या २ हजार ७ सय ५१ रहेकोमा जम्मा २ हजार २ सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी दिएका छन्।
जिल्लाको राजपुर नगरपालिका -६ र इशनाथ नगरपालिका -७ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
जिल्लाको तीन ठाउँमा भएको उप निर्वाचनमा दुई ठाउँमा नेपाली कांग्रेस जीत हासिल गरेका छन् भने एक ठाउँमा नेकपा एकिकृत समाजवादी जीत हात पारेका छन्।

