कलैया । हलखोरिया साझेदारी वन उपभोक्ता समूहले रुख विरुवा जोगाउन साता व्यापी अभियान शुरु गरेको छ।
यस अभियान अन्तर्गत विभिन्न जनचेतना मुलक कार्यक्रम गरिरहेको हलखोरिया साझेदारी वनका अध्यक्ष विकल्प भट्टराईले जानकारी दिए। अभियान शुक्रबार देखि शुरु भएको हो। 
जंगल नजिक रहेका बस्तिमा हरियो रुख बिरुवा नकाटी यसलाई जोगाएर हरियोपनमा वृद्धि गर्न अभियान शुरु गरिएको भट्टराईले बताए। अभियानको सुरुवात जितपुर सिमरा –१६ बदाफरबाट गरिएको हो।
वदाफरमा भएको कार्यक्रममा वडा सदस्य सोममाया रिमाल,साझेदारी वडा प्रतिनिधि नमराज रिमाल,प्रमोद चौधरी,बिनोद चौधरी लगायत स्थानीयको उपस्थितिमा जनचेतना कार्यक्रम गरिएको हो।
सो अवसरमा प्लेकार्ड समेत सहभागिले बोकेका थिए। हाम्रो प्रतिबद्धता वन संरक्षणमा एकबद्धता,हामीलाई अन्न,अन्नलाई पानी र पानीलाई वन भन्ने नारा अंकित प्लेकार्ड समेत सहभागिले बोकेका थिए।
वन रहे हामी रहन्छौ,मेरो घर र वन सन्तानको लागि संरक्षण गर्छु, म हलखोरिया साझेदारी वनसंगै छु भन्ने नारा अंकित प्लेकार्ड समेत सहभागिले बोकेका हुन्।
हरियो रुख विरुवा नकाटौं वन जोगाऔं भन्ने मूल नाराका साथ यो अभियान शुरु भएको हो।

