कलैया : बारा प्रहरीले बिहीबार ९७ किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी बरिष्ट नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२२ तिन नम्बर पुल स्थित रोड देखी पुर्व रहेको टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई १८ पोकामा राखेको ९७ किलो लागू औषध गाँजा प्रहरीले बरामद गरेको हो।
अनुसन्धान गर्दै जाँदा उक्त गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको फोर्ड कम्पनीको कालो ग्रे रंगको कार गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको हो।
गाँजा ओसारपसार कार्यमा संलग्न रहेको २ जना मानिसहरूलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक कानूनी प्रकृया अगाडी बढाएको छ।
प्रहरीले चितवन राप्ती न.पा.वडा नं.०२ गडौली टोल बस्ने ३५ वर्षीय गाडी चालक बिष्णु लामालाई नियन्त्रणमा लिएको छ।
सोही गाडीमा सवार जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२४ सिद्धार्थ टोल बस्ने ४६ वर्षीय टेक बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।


