पचरौता नगरपालिकाको सहयोगमा भयो निःशुल्क आँखा शिवीर

साझेदारी दैनिक
307 पाठक संख्या

पचरौता :नूर आलम बादशाह/ बाराको पचरौता नगरपालिकाको सहयोगमा स्वास्थ्य शाखा पचरौता,लायन्स क्लब ऑफ वीरगञ्ज र माट्रिक आई फाउण्डेशन वीरगञ्जको संयुक्त आयोजना तथा सहकार्यमा निःशुल्क आँखा शिवीर सम्पन्न भएको छ।

उक्त निःशुल्क आँखा शिवीर बेनौली स्वास्थ्य चौकीमा सञ्चालन गरिएको हो। शिवीरमा महिला पुरुष गरी ५०१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको हो। जस मध्ये २५२ जनाको आँखामा मोतिबिन्दु भेटिएको पचरौता स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र साहले साझेदारी दैनिकलाई जानकारी दिए।

पचरौता नगरपालिकाको वडा नं ७ का स्थानीय बासिन्दालाई लक्षित गरी सो शिवीरको आयोजना गरिएको हो। आँखा शिवीरमा पचरौता नगरपालिकाको अन्य वडा लगायत छिमेकी पालिकाहरु आदर्श कोतवाल गाउँपालिका,सिम्रौनगढ़ नगरपालिका,सुवर्ण गाउँपालिका र भारत बिहार राज्यका पूर्वी चम्पारण जिल्लाका नेपाल सिमाना नजिकका गाउँबाट पनि सर्वसाधारणहरु आँखा परीक्षण गराउन आएका थिए।

मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण हो। जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर,अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ। पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ।

आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन्। शिवीरबाट छानिएका मोतिबिन्दुका बिरामीहरुको माट्रिक आई फाउण्डेशन वीरगंजमा विशेषज्ञ टोलीद्वारा निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए।

मोतिबिन्दु भएका बिरामीलाई घरबाट वीरगञ्ज लाने र शल्यक्रिया पश्चात गाउँमा पु-याई परिवारका सदस्यलाई जिम्मा लगाउने काम समेत नगरपालिकाले गर्ने छ।

पचरौता नगरपालिकाले पैसाको अभावका कारण पालिका भित्रका कोहि पनि नागरिक अन्धोपनमा जीवन विताउन नपरोस भन्ने उद्देश्यले आँखा शिवीर सञ्चालन गदै आएको छ।

Leave a review

This will close in 0 seconds