निजगढ : नवराज चौलागाईं/ केरा जोन बारा समन्वय समितिको संयोजकमा निजगढका कृषक हिराबहादुर थापा मगर चयन भएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई बारा अन्तर्गत केरा जोन रहेको छ। कृषि ज्ञान केन्द्र कलैयामा सम्पन्न एक भेलाले मगरलाई केरा जोन समन्वय समिति बाराको संयोजकमा चयन गरेको हो।
निजगढ नगरपालिका र जितपुरसिमरा उपमहानगरपालिकाको पाँच सय हेक्टर क्षेत्रफलमा गरिएको केरा खेतीलाई समेटेर केरा जोन कार्यक्रम लागू गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बाराका प्रमुख डा. हरेराम यादवको रोहबरमा आयोजित भेलाले मगरको संयोजकत्वमा सो समिति गठन गरेको हो।
भेलाले भगौडीदेवी थरुनी,बिष्णु नेपाल,कादम्बरी चौलागाईं,निर्मला के.सी,हरी चौलागाईं,मानबहादुर श्रेष्ठ,माधव प्रसाद न्यौपाने र अम्बर मगरलाई केरा जोन समन्वय समिति बाराको सदस्यमा चयन गरेको हो।
केरा जोन क्षेत्र कार्यान्वयनमा आएसङ्गै जोनमा संलग्न कृषकहरूले रासायनिक तथा प्राङ्गरिक मल,उन्नत तथा हाइब्रिड बिउ बिजन,रासायनिक एवं जैविक विषादिहरु लगायतका उत्पादन सामग्रीहरुमा तोकिएको बमोजिम अनुदान सहयोग प्राप्त गर्न सक्ने केरा जोन समन्वय समितीका संयोजक हिराबहादुर थापा मगरले बताए।
जोनमा सम्वन्धित बालीवस्तुमा सहभागितात्मक व्यबसायिक उत्पादन प्रविधि प्रदर्शन संचालन,उत्पादन प्रविधि,बजारीकरण,मूल्य श्रृङखला विकास लगायतका विविध पक्षहरु समेटिने छ।
स्थलगत तालिम,यान्त्रिकरण प्रर्वधनका लागी उत्पादन देखी बजारीकरण सम्म आबश्यक पर्ने सबै प्रकारका मेशीनरी औजार उपकरणको सेट सहितको सेवा उपलब्ध गराउन कस्टम हायरिङ सेन्टर स्थापनाका लागी पुँजीगत अनुदान उपलब्ध गराइने छ।
यस अन्तर्गत व्यवसायीकरणका लागी प्राथमिक प्रशोधन केन्द्र,गोदाम घर,ग्रेडिङ लगायतका आवश्यक पूर्वाधारहरु निर्माण गरिने मगरले बताए।

