जीतपुर । बाराको डुमरवानामा आयोजित प्रथम खुला महिला भलिबल प्रतियोगिताको उपाधि जनशक्ति क्लब कोल्हवीले जितेको छ। डुमरवाना विकास मञ्चको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा सर्लाहीको लक्ष्मी नाथ क्लब हरिपुरलाई पराजित गर्दै जनशक्ति क्लब च्याम्पियन बनेको हो।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक सेटमा जनशक्ति क्लबले बाजी मार्दै उपाधि आफ्नो नाममा पार्न सफल भयो। विजेता जनशक्ति क्लब कोल्हवीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता लक्ष्मी नाथ क्लब हरिपुर सर्लाहीले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा लक्ष्मी नाथ क्लब हरिपुरकी नेहा चौधरी उत्कृष्ट खेलाडी घोषित भइन्। त्यस्तै, जनशक्ति क्लब कोल्हवीकी कोपिला चौधरी ‘बेस्ट स्पाइकर’ घोषित भएकी छन्।
समापन समारोह डुमरवाना विकास मञ्चका अध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यस अवसरमा वडा नं. १६ की वडाध्यक्ष चयन माया गुरुङ, समाजसेवी रूपलाल चौधरी तथा पलट चौधरीलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले महिला खेलकुदको विकास र प्रतिभा प्रोत्साहनका लागि यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गरिनुपर्नेमा जोड दिएका थिए।

