गढिमाई नगरपालिकाको बजेट ५३ करोड

साझेदारी दैनिक
440 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको गढीमाई नगरपालिकाको नवौं नगरसभा सोमबार भब्यताको साथ सम्पन्न भएको छ।

नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच नगरपालिकाको नवौं नगरसभा उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।

नगरलाई आत्मनिर्भर बनाउन पर्यटन,शिक्षा,स्वास्थ्यको क्षेत्रमा विशेष जोड दिदै जनमुखी योजनाका साथ अगाडी बढने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गढीमाई नगरपालिका नगरप्रमुख श्यामप्रसाद यादवको अध्यक्षतामा सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ५३ करोड १५ लाख ८४ हजार ४ सयको बजेटमा चालु तर्फ ३७ करोड ७२ लाख ४७ हजार ४ सय तथा पुुंंजिगत तर्फ १५ करोड, ४३ लाख ३७ हजारको बजेट प्रस्तुत भएको हो ।

नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख यादवले नगरको समृद्ध विकासको पूर्वाधार निर्माणकार्यमा विशेष प्राथमिकता दिईने बताए । शिक्षा,स्वास्थ्य,कृषि,सडक,खानेपानी, पर्यटन पूर्वाधार,विपद व्यवस्थापन लगायतका जनजिविका संग जोडिएका सम्पूर्ण आवश्यकतालाई यसै आर्थिक वर्षमा विशेष प्राथमिकता दिने उनले बताए ।

नगर उप–प्रमुख अस्मिता यादवले नवौं नगर अधिवेशनको सफलताको कामना गर्दै उनले भनिन् सबभन्दा नजिकको सरकार स्थानीय तह भएको हुनाले सबैको साथ सहयोग र सहकार्यमा अगाडि बढ्न सुझाव दिइन् ।

सभालाई सम्बोधन गरिदै वडा नं ५ का वडाध्यक्ष राजिव रंजन यादवले नगरपालिकामा रहेका समस्या पहिचान गर्दा नगरसभा गर्न ढिलो भएको र कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधाहरुलाई यथाशीघ्र पूरा गर्नुका साथै अनावश्यक करारका कर्मचारीलाई स–सम्मान विदाई गर्ने बताए ।

त्यसतै वडाध्यक्ष रामपुकार यादवले नगरप्रमुखद्वारा प्रस्तुत गरिएको नीति कार्यक्रम तथा बजेट एकदमै राम्रो र सराहनीय रहेको चर्चा गर्दै विगतका कमिकमजोरीलाई सुुधार गर्न ५ बुंदे ज्ञापनपत्र बुझाउदा सुधार भएपछि आज नगरसभा हुदा अत्यन्तै खुशी लागेको बताए ।

वडा नम्बर २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले शिक्षाको अभावमा नगरको समस्या उत्पन्न भएको हुदा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउदै कृषिलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रशासकीय अधिकृत नागेन्द्र यादव, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष,वडासदस्यहरु,कार्यपालिका सदस्यहरु,नगर कार्यपालिकामा विभिन्न फाँटका प्रमुखहरु,लेखा प्रमुख कामेश्वर सहनी,विभिन्न राजनीतिक दलका नेता लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds