प्रतिनिधिसभा निर्वाचन : बारामा झण्डै २० हजार मत बदर

संदिप प्रसाद यादव
251 पाठक संख्या
1

कलैया : गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा झण्डै २० हजार मत बदर भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार जिल्लाभर कुल १९ हजार ७९५ मत बदर भएका छन्।

जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार चारवटै निर्वाचन क्षेत्रमा उल्लेख्य सङ्ख्यामा मत बदर भएको देखिएको हो। निर्वाचन क्षेत्र नम्बर १ मा ५ हजार २९६ मत बदर भएका छन्। सो क्षेत्रमा कुल १ लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको थियो। खसेको मतमध्ये ७५ हजार २८५ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ३ हजार ७६३ मत बदर भएको छ। यस क्षेत्रमा १ लाख १३ हजार ८३९ मतदाता रहेकामा ७६ हजार ५२४ मत खसेको थियो। खसेको मतमध्ये ७२ हजार ७६१ मत सदर भएको थियो।

निर्वाचन क्षेत्र नम्बर ३ मा ४ हजार ६९५ मत बदर भएको छ। यहाँ १ लाख १३ हजार ५२१ मतदाता रहेकामा ७५ हजार ९०० मत खसेको थियो। तीमध्ये ७१ हजार २०५ मत सदर भएको जनाइएको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी ६ हजार ४१ मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ। यस क्षेत्रमा १ लाख १४ हजार ४३९ मतदाता रहेकामा ८० हजार ६७८ मत खसेको थियो। खसेको मतमध्ये ७४ हजार ६३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।

चारवटै निर्वाचन क्षेत्रको तथ्यांक हेर्दा निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिए पनि उल्लेख्य सङ्ख्यामा मत बदर भएको देखिएको निर्वाचन कार्यालयले जनाएको छ।

Leave a review