वीरगञ्ज : हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा श्रोत नखुलेको सात लाख रकम सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी गाउँपालिका–३ झौवा बस्ने ४३ वर्षका अजयकुमार साह रहेका छन्। उनलाई वीरगञ्ज महानगरपालिका वडा नं.१० आदर्शनगर ग्लोबल आई एम ई बैंक नजिक सडक खण्डबाट प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट सात लाख रकम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। पक्राउ परेका उनलाइ मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान भईरहेको लम्सालले बताए।
गत बैशाख ७ गते साह माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुदा चलाइएकोले उनी पटके हुण्डी कारोबारी भएको पर्सा प्रहरीले जानकारी दिएको छ।

