कलैया : मधेश प्रदेशको आठ जिल्ला मध्ये बारा र धनुषा जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट रहेको छ।
आर्थिक वर्ष २०८१/०८२ को दोश्रो त्रैमासिकको कार्य सम्पादन सम्झौता मूल्यांकन प्रणाली(सिपिएएस) मा बारा र धनुषा जिल्लाले ४६ औ स्थान प्राप्त गरेको गृह मन्त्रालयले प्रकाशित गरेको नतिजामा बताइएको हो।
कार्य सम्पादन मूल्यांकन नतिजामा बारा र धनुषा जिल्ला प्रशासन कार्यालयले ४६ औं स्थान हासिल गरेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।
कार्य सम्पादन मूल्यांकन अनुसार ७७ जिल्ला प्रशासन कार्यालयहरु मध्ये मधेश प्रदेशका रौतहट जिल्लाले ६१ औं स्थान,पर्सा जिल्लाले ६३ औं स्थान,सिरहा जिल्लाले ६८ औं स्थान प्राप्त गरेको छ।
महोत्तरी र सप्तरी जिल्लाले ६९ औं स्थान तथा सर्लाही जिल्लाले ७४ औं स्थान प्राप्त गरेको जनाइएको छ।
यसरी समग्र मधेश प्रदेशमा बारा र धनुषाका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादन सबैभन्दा उत्कृष्ट रहेको देखिएको सप्रजिअ भट्टराईले बताएका हुन्।
जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीहरुले भरपुर मेहनत गरेपछि उत्कृष्ट स्थान हासिल गर्न सफलता प्राप्त गरेका हुन्।

