कलैया : दार्चुलाका पत्रकार मनोरथ (मनोज) बडुलाई वीरगञ्जको सबैभन्दा प्रतिष्ठित गोतामे पत्रकारीता स्वर्ण पदक बाट सम्मान गरिएको छ।
नागरिक पार्क लक्षमणवामा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा बडुलाई स्वर्णपदक सहित सम्मान गरिएको हो। संविधानसभा सदस्य अनिलकुमार रुंगटाले शुक्रवार ज्येष्ठ पत्रकार बडुलाई एक तोलाको स्वर्णपदकबाट सम्मानित गरेका हुन्।
सुदुरपश्चिम प्रदेशको दार्चुलाबाट हाल कान्तिपुर दैनिकको संवाददाताको रुपमा बडु सक्रिय रहेका छन्।
प्रमुख अतिथि संविधानसभा सदस्य रुंगटाले पत्रकारिता मर्यादित पेशा रहेको चर्चा गरे। उनले यो समाजको ऐना भएको जनाए। यसले आवाज विहीनहरुको आवाजलाई मुखरित गर्दै आएको उनले बताए।
प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले पत्रकार गौतमले गरेको पत्रकारिता प्रेरणा रहेको जनाए। पञ्चायतकालको प्रतिकुल अवस्थामा पञ्चायत विरोधी गतिविधी नडराएर गरेको उनले स्मरण गरे। मोफसलबाट मूलधारको पत्रकारितामा गौतमले टेवा पु¥याएको उनले चर्चा गरे।
पत्रकार गौतमको स्मृतिमा यसअघि स्थापित पुरस्कारहरुले निरन्तरता पाउन नसकेको जनाए। विगत १३ वर्षदेखी प्रतिष्ठानले १० हजार राशीको पुरस्कारबाट एकतोला सुनसम्म ल्याइ पु¥याएको बताए। पुरस्कृत व्यक्ति बडुले आफुलाई तराईको सुविधासम्पन्न वीरगंजले सम्झेकोमा खुशी व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रहरी उपरीक्षक गौतम मिश्रले शुभकामना व्यक्त गर्दै पुरष्कृत पत्रकार वडुलाई बधाई दिएका थिए।
कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष श्याम पोखरेलले स्वागत गरे। पत्रकार खड्गबहादुर श्रेष्ठले सहजीकरण गरेका थिए।

