सिमरामा तालिम केन्द्रको नाउमा गैरकानुनी सञ्चालन,ठगी गरेको आरोपमा चार जना पक्राउ

रञ्जन यादव
320 पाठक संख्या

जीतपुर । बाराको सिमरामा तालिम सञ्चालनका नाममा युवाहरुलाई ठगी गरेको तथ्य बाहिर आएको छ ।

नेटर्वकिङ व्यापारको नाउमा युवाहरुलाई ठगी गरेको पिडितहरुको आरोप लगाएका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं.२ सिमरामा युनिभर्सल भिजीनरी युथ इन्टरप्रेनरर्सका नाममा ठगी गरेको तथ्य खुलेको हो ।

सोही तालिम केन्द्रबाट आफुहरु ठगीएको भन्दै प्रहरीमा उजुरी परेपछि बारा प्रहरीले अनुसन्धान थालेको छ।

ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय सिमराले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ का सुमित पटेल,बीरगञ्ज महानगरपालिका २२ का सुमन साह,बीरगञ्ज महानगरपालिका २३ का आर्यनकुमार दास र नवलपरासीको कावासोती नगरपालिका १४ की रिता सुनार रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरामा बीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बस्ने प्रदिप पटेल सहितका ७ जनाले आफूहरु ठगिएको निवेदन दिएपछि आइतबार प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेको जनाएको छ ।

युनिभर्सल इन्टरप्रेनर्सले सिमरा स्थित साना किसान कृषि सहकारी डुमरवानाको सिमरा शाखा रहेको भवनमा गत मंसिर १ गतेबाट कार्यालय खोलेको पाईएको छ ।

पक्राउ परेका मध्य सुमित पटेलले युनिभर्सल इन्टरप्रेनर्सको सिमरा शाखा प्रमुखका रुपमा घरभाडा सम्झौतामा हस्ताक्षर गरेको पाईएको प्रहरीले जनाएको छ।

युनिभर्सल इन्टरप्रेनर्सले सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाउने र यूवाहरुलाई त्यसमा जोडेर नेटवर्किङ व्यापारमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

७ लाख ५५ हजार रुपैयाँ सो समुहले ठगी गरेको निवेदन ईलाका प्रहरी कार्यालय सिमरामा परेपछि प्रहरीले उनिहरुको कार्यालयबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

उनीहरुले बीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बस्ने प्रदिप पटेलसंग एकलाख ५० हजार,रौतहट देवाही गोनाही नगरपालिका ७ बस्ने राम उजैन कुशवाहासंग ९० हजार,बीरगञ्ज महानगरपालिका २२ बस्ने लालबाबु कुशवाहासंग ९० हजार,पर्साको बहुदरमाई नगरपालिका ६ का निकेशकुमार कुशवाहासंग ५५ हजार,पर्साको जगरनाथपुर गाउँपालिका ३ बस्ने संदिप यादवसंग २ लाख ८० हजार,बाराको सिम्रौनगढ नगरपालिका १० रमेशकुमार बैठासंग ९० हजार,पर्साको पोखरीया नगरपालिका १ का उपेन्द्र पासवानसंग ९० हजार ठगी गरेको आरोप छ ।

पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा वाईबाले जानकारी दिनुभयो ।

शुरुमा यूवाहरुलाई सदस्य बन्न प्रेरित गर्ने,त्यसपछि तालिमका नाममा शुल्क लिने र विभिन्न बस्तुको प्रत्यक्ष व्यापारमा संलग्न गराउने गरेको आरोप उक्त समूहमाथि आरोप छ ।

२०७९ चैत्रमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको यूनिभर्सल युथ भिजनरी इन्टरप्रेर्नस प्रा.लि.को मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको कम्पनीका सञ्चालक मिलन श्रेष्ठले बताएका छन ।

Leave a review