डुमरबानामा राजुमहतो स्मृति मिनी–म्याराथन प्रतियोगिता सम्पन्न

रञ्जन यादव
204 पाठक संख्या

डुमरवाना :बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानामा राजु महतो स्मृति मिनी–म्याराथन – २०८१ भव्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रिय विभूति एलुम्नाई (एसईई ब्याच –२०७३)द्वारा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको सहकार्यमा शुक्रबार आयोजित प्रतियोगितामा छात्र तथा छात्रा गरी जम्मा १ सय जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा छात्रतर्फ लोटस एकेडेमी,सिमराका राजाबाबु दास प्रथम स्थान हासिल गर्दै १८ मिनेट ५० सेकेन्डको समय निकाल्न सफल भए । त्यस्तै,एक्स–सर्भिसम्यान चिल्ड्रेन एकेडेमी, सुन्दरबस्तीका आर्यन चौधरी १८ मिनेट ५५ सेकेन्डको समय निकाल्दै दोस्रो स्थानमा रहे भने होली गार्डेन,पथलैयाका इवान लामा १९ मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहे ।

छात्रातर्फ भने राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनकी अनुश्का चौधरी २३ मिनेट ६ सेकेन्डको समय निकाल्दै प्रथम भइन् । न्यू एकता बी.एस.की स्मृति श्रेष्ठ २३ मिनेट ४५ सेकेन्डको समयसहित दोस्रो स्थानमा रहिन् भने राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनकी नै करुणा बच्चर २३ मिनेट ५१ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान प्राप्त गर्न सफल भइन् ।

प्रतियोगिता समापनसँगै एक औपचारिक पुरस्कार वितरण समारोह समेत आयोजित गरिएको थियो । जसमा प्रथम हुनेलाई रु.५ हजार नगद, द्धितीय हुनेलाई रु ३ हजार र तृतीय हुनेलाई रु २ हजार बितरण गरिएको थियो । सहभागिहरुले ५ कि.मि.को यात्रा तय गरेका थिए ।

प्रतियोगितामा १० वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर कुमार खड्काको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा राजु महतोका अभिभावक रामावतार महतो र कमलीदेवी महतो विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो । यस ऐतिहासिक प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न पहल गर्ने विभूति एलुम्नाइ (एसएलसी ब्याच –२०७३) लाई आयोजक संस्थाका प्रबन्ध निर्देशक श्याम प्रसाद भट्टराईले विशेष धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको संचालन साहयक प्रिन्सिपल किशोर श्रेष्ठले गरेका थिए ।

Leave a review