खानेपानी डिभिजन कार्यालय बाराका तत्कालीन निमित्त प्रमुख यादवविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

साझेदारी डेलि
139 पाठक संख्या

बारा । बाराको कलैयास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार यादवले आफ्नो सेवा अवधिमा स्रोत नखुलेको अस्वाभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध १ करोड ४६ लाख ८१ हजार २ सय २५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको हो। अख्तियारले यादवको सेवा प्रवेश मिति २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको आय-व्ययको विस्तृत छानबिन गरेको थियो।

सो अवधिमा यादव र उनको परिवारको वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ देखिएकोमा कुल खर्च तथा लगानी भने ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ भेटिएको आयोगको दाबी छ। यसरी वैध आयको तुलनामा १ करोड ४६ लाखभन्दा बढी रकमको स्रोत नखुलेपछि उनलाई भ्रष्टाचारको मुद्दा चलाइएको हो।

अवैध रूपमा आर्जन गरिएको उक्त सम्पत्ति व्यवस्थापनका लागि यादवले आफ्नी श्रीमतीको नाममा समेत लगानी गरेको देखिएकाले आयोगले उनकी पत्नी निर्मलाकुमारीलाई पनि प्रतिवादी बनाएको छ। आयोगले दुवै जनाबाट बिगो बराबरको रकम असुलउपर गर्न र गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न माग दाबी गरेको छ।

Leave a review